पोखरा । पोखरामा भएको प्रचण्ड कप राष्ट्रिय महिला भलिबलको उपाधि शसस्त्र प्रहरी बलको एपिएफ क्लबले जितेको छ । पोखरा रङ्गशालाको कभर्डहलमा शनिबार भएको फाइनल खेलमा एपिएफले नेपाल पुसिल क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेर उपाधि जितेको हो । एपिएफले पुलिसलाई २५–१९, २५–२० र २५–१३ को सोझो सेटमा पराजित गरेको हो ।
त्यसैगरी तेस्रो स्थानको लागि शनिबार नै भएको खेलमा एभरेस्ट क्लबलाई सोझो सेटमा पराजित गर्दै न्यु डायमन्ड विजयी भएको छ। न्यु डायमण्डले एभरेस्ट क्लबलाई २५–८, २५–१९ र २५–११ को सोझो सेटमा पराजित गरेको हो । प्रतियोगितामा विजेता टिमले ६ लाख रुपियाँ, उपविजेताले ३ लाख, तेस्रो हुने टिमले १ लाखको साथमा ट्रफी मेडल र प्रमाण पत्र वितरण गरिएको थियो ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीमा एपिएफकी निरुता ठगुन्ना घोषित हुनुभयो । त्यसैगरी उत्कृष्ट सेटरमा एपिएफकी जसना महतो, उत्कृष्ट स्पाइकरमा पुलिसकी उषा भण्डारी, उत्कृष्ट सर्भरमा एपिएफकी सृष्टि खड्गी, उत्कृष्ट ब्लकरमा न्यु डाइमन्डकी सुमित्रा रेग्मी, उत्कृष्ट लिब्रोमा न्यु डायमन्डकी सलिना श्रेष्ठ र उत्कृष्ट प्रशिक्षकमा भने एपिएफका पुष्पजंग मल्ल घोषित हुनुभयो ।
प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीलाई ३० हजार र अन्य विधाका उत्कृष्टलाई जनही २० हजार रुपियाँ पुरस्कार प्रदान गरिएको छ । नेसनल स्पोर्टस् एकेडेमीको आयोजनामा भएको प्रतियोगितामा ६ टिम सहभागी भएका थिए ।