पोखरा । कास्कीमा असारबाट नदीजन्य तथा खानीजन्य पदार्थको उत्खनन् तथा संकलन कार्यमा रोक लगाइएको छ । जिल्ला अनुगमन समितिको बिहीबार बसेको बैठकले नदीजन्य तथा खानीजन्य पदार्थ उत्खनन्मा रोक लगाउने निर्णय गरेको हो । ढुंगा, गिटी ,बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड २०७७ को कानुनी व्यवस्था बमोजिम उक्त निर्णय गरिएको जिल्ला समन्वय समिति कास्कीका प्रमुख तथा अनुगमन समिति संयोजक लीलाधर पौडेलले बताउनुभयो ।
सो व्यवस्था अनुसार असार ,साउन र भदौ महिनामा उत्खनन तथा संकलन कार्य गर्न नपाइने उल्लेख छ । सो निर्णय कडाइका साथ कार्यान्वयन गरिने र अवज्ञा गरेमा कानुन अनुसार कडा कारबाही गरिने पौडेलले बताउनु भयो । पौडेलले सो कार्यमा सम्लग्न व्यवसायी तथा आपूर्तिकर्ता र सरोकारवालाहरूसहित आम जनसमुदाय सचेत हुँदै निर्णयको कार्यान्वयन र मापदण्डको पालनामा सरिक हुन आग्रह गर्नुभयो।
बैठकले नदीजन्य पदार्थको मौज्दात आर्थिक वर्षको अन्त्य सम्म शून्य गर्नुपर्ने र सो हुन नसकेमा बाँकी मौज्दात सम्बन्धित पालिकाले जफत गरी लिलाम गर्ने कानुनी व्यवस्थालाई कडाइका साथ लागू गर्न कास्कीका सबै पालिकालाइ अनुरोध समेत गरेको कास्कीका जिल्ला समन्वय अधिकारी नवराज बरालले उल्लेख गर्नुभयो । सञ्चालनमा रहेका खानी, क्रसर तथा प्रसोधन उद्योगले असार मसान्त भित्र आफ्नो उत्पादनको वार्षिक मौज्दात तथा खरिद बिक्रीको परिमाण सार्वजनिक गरी सो को जानकारी सम्बन्धित पालिका र अनुगमन समितिलाई दिनुपर्ने व्यवस्थालाई समेत कडाइका साथ अनुगमन गर्ने निर्णय भएको बरालले बताउनुभयो ।