पोखरा । पोखरामा जारी प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगितामा सेमिफाइलन समीकरण पूरा भएको छ । बिहीबार भएको खेलमा विभागीय टोली एपिएफ क्लब र एभरेस्ट भलिबल क्लब सेमिफाइनलमा प्रवेश गरेका छन् ।
पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा बिहीबार भएको समूह ‘ए’ को अन्तिम खेलमा एपिएफ क्लबले स्टेप रामपुरलाई ३–० को सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । एपिएफले पहिलो सेट २५–६, दोस्रो २५–६ र तेस्रो २५–७ ले सहजै जित निकालेको हो । एपिएफले फाइनल प्रवेश गर्न न्यु डायमन्ड युथ स्पोट्र्स क्लबसँग प्रतिष्वपर्धा गर्नेछ ।
बिहीबार नै भएको समूह ‘बी’ को अन्तिम खेलमा एभरेस्ट भलिबल क्लबले गण्डकी प्रदेशलाई ३–१ को सेटमा पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो । गण्डकी प्रदेशले पहिलो सेट २५–२१ ले जितेको थियो भने एभरेस्टले दोस्रो, तेस्रो र चौथो सेट जित्दै सेमिफाइनलको यात्र तय गरेको हो ।
एभरेस्टले दोस्रो सेट २५–१४, तेस्रो सेट २५–२२ र चौथो सेट २५–१४ ले जितेको हो । यो जितसँगै एभरेस्टले फाइनल प्रवेशका लागि समूह ‘ए’ को विजेता नेपाल पुलिस क्लबसँग खेल्नेछ । असार ३१ गतेसम्म चल्ने यो प्रतियोगिताको विजेताले ६ लाख, उपविजेताले ३ लाख र तेस्रो हुने टोलीले १ लाख नगद पुरस्कार प्राप्त गर्नेछ । उत्कृष्ट खेलाडीलाई नगद २० हजार र विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीलाई जनही. १० हजार रुपियाँ पुरस्कार प्रदान गरिनेछ ।