भारतको अहमदाबादमा आज भ्भएको एयर इन्डियाको विमान दुर्घटनामा गुजरातका पूर्वमुख्यमन्त्री विजय रुपाणीसहित सबैकाे मृत्यु भएको छ ।बिहीबार दिउँसो अहमदाबादबाट लन्डन प्रस्थान गर्न लागेको एयर इन्डियाको फ्लाइट एआइ १७१ विमानमा २३० यात्रुसहित १२ क्रू मेम्बर सवार थिए । दुर्घटनास्थलमा अहिलेसम्म १०० जनाको शव भेटिएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
दुर्घटनामा परेको विमान बोइङ ७८७–८ एयरक्र्याफट हो । बिहिबार दिउँसो १ः३८ बजे (भारतीय समय) रने–वे बाट टेक अफ गरेको विमान १ः४० मै तल खसेको थियो । विमाननस्थलकै पर्खाल र एयर कस्टम कार्गो अफिस नजिकै विमान ठोक्किएको थियो । प्रत्यक्षदर्शीका अनुसार विमान उडान भर्दादेखि नै निकै तल उडिरहेको थियो ।
दुर्घटनापछि विमान दुई टुक्रा भएको र निकै ठूलो आगोको मुस्लो देखिएको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै बीबीसी हिन्दीले उल्लेख गरेको छ । अहमदाबादको सरदार बल्लवभाइ पटेल अन्तर्राष्ट्रिय विमानस्थलको रन–वे बाट टेकअफ गरेको केही मिनेटमै विमान नजिकै भवनमा ठोक्कियो ।
विमान ठोक्किएको पाँचतले भवन अहमदाबादको अस्पतालका डाक्टरहरुको आवास भएको बताइएको छ । विमान खसेर आगलागी हुँदा १५ जना डाक्टर घाइते भएका विवरणहरु आएका छन् । दुर्घटनापछि एयर इन्डियाले यात्रुका आफन्तलाई सहजीकरण र सूचना दिन हटलाइन नम्बर जारी गरेको जनाएको छ । एजेन्सी ।