पोखरा । पोखरा उद्योग वाणिज्य संघले आफ्नी हङकङ प्रतिनिधि तथा हङकङको जिल्ला परिषद् सदस्य अरुणा गुरुङको स्वागत र सम्मान गरेको छ । संघका अध्यक्ष गोकर्ण कार्की, पूर्वअध्यक्ष विश्वशंकर पालिखेसहित पदाधिकारी र संघका कार्यसमितिका सदस्यले अरुणालाई बधाईसहित स्वागत गरेका हुन् ।
अरुणाले हङकङमा रहेर त्यहाँका उद्योग वाणिज्य संघहरुमा आयोजना हुने कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघको प्रतिनिधित्व गर्दै आएकी छन् । हङकङ सरकारले उनलाई सन् २०२४ मा नै याउचिम मोङ जिल्लाको प्रतिनिधित्व गर्ने गरी परिषद् सदस्यमा नियुक्त गरेको थियो । नेपाली तथा जातीय अल्पसंख्यकको प्रतिनिधित्व गर्दै नेपाली समुदायबाट हङकङमा यो पदमा पुग्ने अरुणा पहिलो हुन् ।
उनको कार्यकाल सन् २०२७ सम्म छ । पोखरा उद्योग वाणिज्य संघको नेपाल च्याम्बर अफ कमर्स हङकङसँग भगिनी सम्बन्ध छ । पोउवा संघ र तथा नेपाल च्याम्बर अफ कमर्स हङकङबीच सन् २०१८ नै आपसी सहयोग आदान–प्रदानसम्बन्धी समझदारी भएको थियो । नेपाल च्याम्बर हङकङको २०८० साल असार १३ गते सम्पन्न १५ औं महाधिवेशनमा चाहिँ औपचारिक रुपले भगिनी सम्बन्ध स्थापना भएको थियो ।
त्यहाँ हुने कार्यक्रममा पनि पोउवा संघको तर्फबाट अरुणाको प्रतिनिधित्व रहँदै आएको छ । कार्यक्रममा पोउवा संघ अध्यक्ष पवनकुमार प्रजापतिले पोखरामा विदेशी लगानी भित्र्याउन तथा पर्यटन प्रवद्र्धनका लागि अरुणाबाट प्राप्त सहयोगको प्रशंसा गरे । उनले पोखरा भ्रमण वर्ष २०२५ लाई हङकङमा प्रचार गर्नका लागि अरुणालाई आग्रह पनि गरे ।
हङकङमा रहेका धनाढ्य उद्योगपतिहरुले लगानीको नयाँ क्षेत्र खोजिरहेको बताउँदै उनले त्यसका लागि नेपाल सरकारले सम्भावनाको क्षेत्रसहितको जानकारी दिनुपर्ने बताइन् । पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष विश्वशंकर पालिखेले अरुणाको उपलब्धिले नेपालीको शिर उच्च बनाएको बताउँदै नेपाल प्रवद्र्धनका निम्ति उनीबाट सरकारले नै सहयोग लिनुपर्ने बताए । कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष उत्तममान बुद्धाचार्यले पनि बोलेका थिए ।