काठमाडौं । काठमाडाैंकाे तीनकुनेमा भएको राजावादी आन्दोलनका प्रतिवादीहरूको थुनछेक बहस लम्बिएको छ । प्रतिवादीहरूको बयान सकेर २० जेठदेखि थुनछेक बहस सुरु भएको थियो । तर आज बुधबार आठ दिन बित्दा समेत थुनछेक बहस जारी छ । प्रतिवादीहरूको तर्फको बहस अन्तिम चरणमा पुगेको बताइएको छ ।
त्यसपछि सरकारी पक्षबाट सरकारी वकिलहरुले जवाफी बहस गर्नेछन् । दुवैतर्फको थुनछेक बहस सकिएपछि बल्ल आदेश आउनेछ ।तीनकुने घटनामा प्रतिवादीमध्ये अहिले ३९ जना प्रतिवादी हिरासतमा छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान सकेर जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा प्रतिवेदन बुझाएको थियो ।
त्यसपछि सरकारी वकिल कार्यालयले ६१ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । चार जना भने नाबालक रहेकाले भक्तपुर पठाइएको थियो । उनीहरू ११ जेठमा मुद्दा दायर भएको थियो । त्यसयता निरन्तर काठमाडौं जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा थुनछेक बहस भइरहेको छ ।
११ जनालाई आपराधिक उपद्रवको मात्रै मुद्दा लगाइएको थियो । आपराधिक उपद्रवको मुद्दा खेपेकाहरू भने धरौटी बुझाएर रिहा भइसकेका छन् । राजावादी आन्दोलनका कमाण्डर दुर्गा प्रसाईंसहित आठ जनालाई भने कर्तव्य ज्यानको समेत मुद्दा लगाइएको छ ।