पोखरा । नेपाल नेत्रज्योति संघले ट्राफिक प्रहरीलाई चस्मा वितरण गरेको छ । संघले गण्डकी प्रदेशमा कार्यरत ट्राफिक प्रहरीहरुका लागि बुधबार ४५० थान चस्मा वितरण गरेको हो । हेल्पिङ ह्याण्ड्स हेल्थ एजुकेशनको सहयोग र हिमालय आँखा अस्पतालको समन्वयमा चस्मा वितरण गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष वरिष्ठ अधिवक्ता सुरेन्द्र थापामगरले बताए । कार्यक्रममा नेत्रज्योति संघका महासचिव भरतबहादुर चन्दले गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर थापालाई चस्मा हस्तान्तरण गरेका थिए ।
सोही अवसरमा कास्कीका १ सय जना पत्रकारहरुलाई चस्मा वितरण गरिएको थियो । नेपाल पत्रकार महासंघ कास्कीलाई ६३ र संसदीय पत्रकार मञ्च, गण्डकीलाई ३७ थान चस्मा वितरण गरिएको हो । कार्यक्रममा महासचिव भरतबहादुर चन्दले ट्राफिक र पत्रकारहरुको निशुल्क आँखा उपचारका लागि सम्झौता भइसकेकाले शिविरलाई व्यवस्थित बनाउँदै लैजानुपर्ने बताए । उनका अनुसार नेपालमा बर्सेनि ३५ लाख बढीको आँखा उपचार गरिन्छ । भने, ३ लाख बढीको अपरेशन हुने गरेको छ ।
कार्यक्रममा नेपाल नेत्रज्याति संघ गण्डकी अध्यक्ष प्राडा. दीलबहादुर क्षेत्री, गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर थापा, नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष माधव बराललगायतले प्रचारात्मक सेवा मार्फत अन्धोपन निवारणमा टेवा पु¥याउनुपर्नेमा जोड दिएका थिए । हिमालय आँखा अस्पताल, सञ्चालक समितिका सचिव डा. नारायण बरालले नारायण श्रेष्ठ नेतृत्वका हेल्पिङ ह्याण्ड्समार्फत उपलब्ध चस्माको मूल्यभन्दा पनि यसले दिने सन्देश अझ ठूलो रहेको बताए । नेपालमा एक सय जनामध्ये १७ जनामा आँखाको कुनै न कुनै समस्या भएकाले बेलैमा सजग हुन उनको आग्रह थियो ।