पोखरा । नेपाल टेलिकमको तामाको तार तथा अन्य घरायसी सामग्री चोरीको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले कास्की जिल्लाबाट ४ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूमाथि जिल्ला अदालत कास्कीबाट चोरी तथा डाँका सम्बन्धी कसूरमा ७ दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार, पोखरा महानगरपालिका–१४ स्थित छिनडाँडामा नेपाल टेलिकमको तामाको तार र अन्य सामान पटक–पटक चोरी भएको भन्दै नेपाल टेलिकम दुरसञ्चार कार्यालय, पोखराबाट २०८२ साल जेठ ८ गते उजुरी प्राप्त भएको थियो। उक्त उजुरीको आधारमा वडा प्रहरी कार्यालय रामबजार र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको टोलीले अनुसन्धानको क्रममा पोखराका दुई स्थानमा सञ्चालित कबाडी केन्द्रहरूमा खानतलासी गरेको थियो।
अनुसन्धानका क्रममा पोखरा–१२ डिगालेथरमा मनोज कुमार सिंहद्वारा सञ्चालित र पोखरा–८ पृथ्वीचोकमा मुकेश कुमारद्वारा सञ्चालित कबाडी गद्दीहरूमा नेपाल टेलिकमको तारसहित विभिन्न सामग्रीहरू फालिएको, कुचिएको तथा डडाएर तामा अलग गरिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
पक्राउ परेका व्यक्तिहरू
१. मनोज कुमार सिंह (२२ वर्ष), मोतिहारी, बिहार (भारत) स्थायी वास, हाल पोखरा–१२ डिगालेथर
२. करन कुमार शाह (२७ वर्ष), बिहार (भारत) स्थायी वास, हाल पोखरा–१२ ढिकालेथर
३. मुकेश कुमार (४२ वर्ष), बिहार (भारत) स्थायी वास, हाल पोखरा–८ पृथ्वीचोक
४. श्यामबहादुर तामाङ (३१ वर्ष), खनियावास–२, धादिङ स्थायी वास, हाल पोखरा–५ जिरोकिमी
पक्राउ परेकाहरूविरुद्ध आवश्यक कानुनी कारबाही अघि बढाइएको छ।