पोखरा । सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह अभियान आइतबारदेखि सुरु भएको छ । गण्डकी प्रदेशका ११ वटै जिल्लामा गरिने अभियानको सुरुवात पोखरामा आयोजित एक समारोहमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गर्नुभयो ।
“जिम्मेवार चालक म, जिम्मेवार यात्री हामी, सुरक्षित सडक र सवारी हामी सबैको जिम्मेवारी” भन्ने नाराका सप्ताहव्यापी अभियान सुुरु गरिएको हो । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पोखरा र जिल्ला ट्राफिक प्रहरी कार्यालय, कास्कीले पोखरामा आयोजना गरेको सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताहको आइतबार उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले सडक पूर्वाधारको स्तरवृद्धिलाई सरकारले प्राथमिकतामा राखेको बताउनुभयो ।
“यातायात क्षेत्रलाई थप व्यवस्थित बनाउन, सर्वसाधारण नागरिकलाई सरल, सहज सेवा दिन प्रदेश सरकारले यातायातको सेवालाई विस्तार र व्यवस्थित गर्दै आएको छ”, उहाँले भन्नुभयो,“यस क्षेत्रमा अनलाइन प्रणालीको विकासलाई हामीले निरन्तरता दिएका छौँ।” देशभर चर्चा भएको राइड सेयरिङलाई व्यवस्थित गर्ने गरी गण्डकी प्रदेश सरकारले कानुन निर्माण गरेका उहाँले बताउनुभयो । “सरल, सहज सेवा लिने आम नागरिकको चाहना र अपेक्षाका साथै प्रदेश सरकारले राजस्व संकलनको एउटा क्षेत्रको रुपमा लिएको छ,” उहाँले भन्नुभयो,“राइड सेयरिङ व्यवहारमा लागू गर्न सबै यातायात व्यवसायी, आम नागरिक सबैमा अपील गर्दछु ।” गण्डकी सरकारले राइड सेयरिङ नियमावली ल्याएपछि यातायात व्यवसायीले त्यसको विरोधमा आन्दोलन नै गरेपछि उहाँले त्यसलाई लागू गर्न आग्रह गर्नुभएको हो ।
ट्राफिक सचेतना कार्यक्रम साप्ताहिक कार्यक्रम मात्र नभएको बताउँदै हाम्रो जीवन र समाजलाई सुरक्षित, मर्यादित र अनुशासित बनाउने अभियान भएको उहाँले बताउनुभयो । “सवारी चालक र यात्रुलाई नियममा बाँध्न, दुर्घटना न्यूनीकरण गर्न, नैतिक शिक्षा प्रदान गर्न यस्ता अभियान आफैँमा महत्वपूर्ण छ”,उहाँले भन्नुभये,“ट्राफिक नियम उलङघन र लापरवाहीले दैनिकजसो दुर्घटना बढेकाले यस्ता कार्यक्रमले दुर्घटना न्यूनीकरण सहयोग पुग्नेछ ।”
सडक दुर्घटना न्यूनीकरणमा सहयोग पु¥याउन गण्डकी प्रदेश सरकारले ट्राफिक प्रहरीलाई जाँचका सामग्री सहयोग गर्ने, सिसिटिभीहरु जडान गर्ने, सचेतनामुलक अभियानहरु सञ्चालन गर्न सहयोग गदै आएको उहाँको भनाइ छ । कार्यक्रममा पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले ट्राफिक सचेतना कार्यक्रम विद्यालय तहमा लैजानुपर्ने र पोखरा महानगरपालिकाले पनि यसलाई प्राथमिकतामा राखेको बताउनुभयो ।
कार्यक्रममा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर थापाले औसत रुपमा गण्डकी प्रदेशमा सडक दुर्घटनाबाट दुई दिनमा १ जनाको मृत्यु हुने र वार्षिक रुपमा १ सय ७७ जनाको ज्यान जाने गरेको जानकारी दिनुभयो । उहाँका अनुसार सडक दुर्घटनामा मृत्यु हुने उमेर समूह १५ देखि ३० वर्ष भित्रको रहेको छ । थापाले सात दिनसम्म प्रदेश भित्रका सबै जिल्लामा गरिने कार्यक्रमका बारेमा पनि जानकारी दिनुभएको थियो । सडक सुरक्षा तथा ट्राफिक सचेतना प्रवद्र्धन गर्दै सवारी दुर्घटना न्यूनीकरण गरी धनजनको क्षति कम गर्न अभियान गरिएको हो ।
गण्डकी प्रदेश प्रहरी प्रमुख डिआइजी दिनेशकुमार आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकी संयोजक केदार पौडेल, गण्डकी प्रदेशका प्रमुख सचिव शोभाकान्त पौडेलले मानवीय लापरबाहीले नै सडक दुर्घटना बढेको बताउँदै यसमा सबै सचेतहुनुपर्ने बताउनुभयो । उद्घाटन समारोह अघि पोखराको चिप्लेढुंगाबाट सुरु भएको प्रभातफेरि पोखरा सभागृहमा आएर सभामा परिणत भएको थियो । कार्यक्रममा ट्राफिक सचेतना सम्बन्धी लघु नाटकसमेत प्रदर्शन गरिएको थियो ।
ट्राफिक सप्ताहमा गरिने कार्यक्रमहरु
सप्ताहको पहिलो दिन : ११ वटै जिल्लाहरुमा सचेतनामूलक प्रभात फेरी सहित सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह – २०८२ को शुभारम्भ सहित सार्वजनिक यातायातका सवारी साधनहरुको ढोकामा सिट क्षमता सहितको स्टिकर टाँस्ने लगायतका कार्यक्रमहरु गरिने छन् ।
दोश्रो दिन: पर्चा पम्प्लेट वितरण गर्ने,स्वयंसेवक परिचालन गरी सडक प्रयोगकर्तालाई बाटो काट्न सिकाउने, सवारी चालकलाई सम्झाई बुझाई गर्ने, अव्यवस्थित पार्किङ हटाउने, धुवाँ धुलो बाट बच्न मास्क वितरण गर्ने, माईकिङ गर्ने, जेव्राक्रस नभएको स्थानबाट बाटो काट्न पर्दा अपनाउनु पर्ने साबधानीका बारेमा सिकाउने लगायतका क्रियाकलाप, गतिविधिहरु गरिनेछन् ।
तेश्रो दिन: ११ वटै जिल्लाहरुमा ग्रामिण सडक लक्षित छत तथा हुटमा बसी यात्रा गर्दाका जोखिम तथा दुष्परिणामहरुबारे जानकारी गराउने, सिट क्षमता अनुगमन, भाडादर अनुगमन, आरक्षण सिट कार्यान्वयन, पहाडी बाटोहरुमा ओटहरुको प्रयोग लगायतका क्रियाकलाप गतिबिधिहरु गरिने छन् ।
चौँथो दिन: बढी भिडभाड हुने स्थानहरु, शैक्षिक संस्था वरपर, विद्यालय लगायत पैदल यात्री, सडक प्रयोगकर्ताहरु लक्षित कार्यक्रमहरु गर्ने, सरकारी सवारी साधन, कर्मचारी लक्षित क्रियाकलाप, गतिविधिहरु गरिने छन् ।
पाँचौं दिन: जिल्ला सदरमुकाम लक्षित पर्यटक सवारी साधनका चालक तथा सवार यात्रुहरु लक्षित कार्यक्रम गर्ने, लघु सचेतना कार्यक्रम समावेश गरी सडकमै सवारी चालक, सहचालकहरुलाई प्रशिक्षण प्रदान गर्ने, जुत्ता लगाएत चालक मैत्री जुत्ता कपडाहरु लगाएको नलगाएको, शहरी क्षेत्रमा आरक्षण सिट कार्यान्वयन, भाडादर अनुगमन, पर्चा पम्प्लेट वितरण लगायतका क्रियाकलाप गरिनेछन् ।
छैटौ दिन: गण्डकी प्रदेशका ११ वटै जिल्ला ट्राफिक प्रहरी कार्यालयहरुबाट जिल्ला स्थित स्वास्थ्य संस्थाहरु सँग समन्वय गरी चालक सहचालकहरुको ब्लड प्रेशर, आँखा, कान लगायत आधारभूत स्वास्थ्य चेकजाँच गर्ने, सवारी साधनहरुको यान्त्रिक परिक्षण गराउने, मेटिएका, अस्पष्ट नम्बर प्लेटहरु सुधार गर्ने, रक्तदान कार्यक्रम हरु गरिनेछन् ।
भने सातौं तथा अन्तिम दिन: संचारकर्मीहरुसँग अन्तरक्रिया लगायतका विभिन्न कार्यक्रम गरी “सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह – २०८२” को समापन गरिनेछ साथै साँझ दिप प्रज्वलन गरिने छ ।