२ दिनदेखि गण्डकीमा सार्वजनिक यातायात ठप्प

२ दिनदेखि गण्डकीमा सार्वजनिक यातायात ठप्प

yatayat photo 16

पोखरा । गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङ नियमावली खारेजीको माग गर्दै यातायात व्यवसायी आन्दोलनमा उत्रिएपछि गण्डकीमा दुई दिनदेखि सार्वजनिक यातायात चलेका छैनन ।उनीहरुले गण्डकी प्रदेशमा सार्वजनिक सवारी सधान ग्यारेजमा थन्क्याएर आन्दोलनमा उत्रिएका हुन् । व्यवसायीको आन्दोलनले शुक्रबारदेखि लामो तथा छोटो दूरीका बस, ट्याक्सी र सार्वजनिक ढुवानी सेवा लगायत सार्वजनिक सवारी साधन पोखरासहित गण्डकी प्रदेशभित्र चलेका चलेनन् । भाडाका सवारी सधान नचलेपछि यात्रु भने मर्कामा परेका छन् ।

गत बुधबार यातायात व्यवसायीले पत्रकार सम्मेलन गरी आफ्ना माग पूरा नभए जेठ १६ देखि गण्डकी प्रदेश र १९ गतेदेखि देशभर सार्वजनिक यातायातका साधन ठप्प पार्ने चेतावनी दिएका थिए भने सोही दिन व्यवसायीले गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री प्रकाशबहादुर केसीलाई ज्ञापनपत्रसमेत बुझाएका थिए । सार्वजनिक यातायात बचाउ सङघर्ष समिति बनाएर उनीहरु आन्दोलनमा उत्रिएका हुन् । दुई पाङग्रे र चार पाङग्रे निजी सवारी सधानले पनि यात्रु बोक्ने पाउने गरी ल्याइएको राइड सेयरिङ नियमावली खारेज हुनुपर्ने उनीहरुले बताएका छन् । गण्डकी प्रदेश सरकारले राइड सेयरिङ र सेल्फ ड्राइभ (आफैं गाडी लिएर चलाउने) सम्बन्धी नियमावली गत वैशाख ३१ गते जारी गरेको थियो । यातायात सेवालाई प्रतिस्पर्धात्मक र व्यवस्थित गराउनका लागि यो नियमावली ल्याइएको गण्डकी प्रदेश सरकारको भनाइ छ ।

व्यवसायीले सवारी तथा यातायात व्यवस्था ऐन २०४९ विपरीत हुने गरी निजी सवारी साधनले पनि सार्वजनिक यातायात सरह यात्रु बोक्न पाउने नियमावली आएकाले खारेज हुनुपर्ने संघर्ष समितिका प्रवत्ता योगेन्द्रबहादुर केसीले बताउनुभयो । सवारी तथा यातायात व्यवस्था ऐनमा निजी सवारी साधनले यात्रु बोक्न नपाउने व्यवस्था भएपनि सर्वोच्च अदालतले २०८१ असार १३ गते सबै प्रकारका सवारी साधनले कानुन बनाएर सेवा दिन पाउने व्यवस्था सम्बन्धी आदेश गरेपछि राइड सेयरिङ सेवाा नियमन तथा व्यवस्थापन गर्ने नियमावली ल्याएका भनाइ गण्डकी सरकारको छ ।

“गण्डकी प्रदेश सरकारले राजत्रपमा प्रकाशित गरेको नियमावली पूर्ण रुपमा खारेज हुनु पर्दछ,”केसीले भन्नुभयो,“सार्वजनिक सवारी साधन सञ्चालन विधि, आयात नीति लगायतको सम्बन्धमा गण्डकी प्रदेश सरकारको नीति लिखित रुपमा आउनु पर्दछ ।” यातायात व्यवसायीले सार्वजनिक यातायात क्षेत्रमा योगदानमा आधारित सामाजिक सुरक्षा कोष अनिवार्य लागू हुनुपर्ने पनि माग गरेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघकै अगुवाइमा व्यवसायीहरु आन्दोलनमा उत्रिएका हुन भने मजदुरका संघ संगठनले पनि आन्दोलनमा ऐक्यवद्धता जनाएका छन् । राइड सेयरिङको विरोध नभइ निजी सवारी सधानले यात्रु बोक्ने पाउने प्रावधानको विरोध गरिएको संघर्ष समितिका सचिवालय सदस्य शोभाकान्त पौडेलले बताउनुभयो ।

प्रतिक्रिया