पोखरा । कास्की प्रहरीले चोरी तथा डाँका सम्बन्धी कसुरमा २ जनालाइ पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले प्रारम्भिक अनुसन्धानको क्रममा कञ्चनपुर स्थायी ठेगाना भई हाल नवलपरासी कावासेती नगरपालिका–११ बस्ने ३४ वर्षीय तेजेन्द्र खड्का र पर्वत कुश्मा नगरपालिका–१३ स्थायी घर भई हाल पोखरा –५ पस्र्याङ बस्ने ३२ वर्षीय टिकाराम विकलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार पोखरा–१२ माटेपानीस्थित एक घरमा भएको चोरीको घटनाको अनुसन्धान गर्दा उनीहरु पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी हरिबहादुर बस्नेतका अनुसार उनीहरुको साथबाट सुनजस्तो देखिने पहेँलो धातुको डल्ला ५ तोला ४ लाल, विभिन्न प्रकारका चाँदीजस्ता देखिने गरगहना ७ तोला ६४ लाल, चाँदीका सिक्का (६ थान) २१ तोला ३० लाल, अन्य गरगहना (ब्रासलेट, सिक्री, लकेट) तथा तयार पार्ने कच्चा पदार्थसहित ७४ तोला ४६ लाल बरामद भएको छ । चोरीमा प्रयोग गरिएको ग २० प ३४६३ नम्बरको स्कुटर, सोको चावी पनि प्रहरीले बदामद गरेको छ ।
पक्राउ परेका दुबै जनालाई कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी कसुरमा आठ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको छ । प्रारम्भिक अनुसन्धानमा उनीहरूले अन्य स्थानहरूमा पनि चोरी गरेको स्विकारेका छन्। हालसम्म झण्डै रु. ३ लाख ४४ हजार ५ सय बराबरको सम्पत्ति चोरी भएको जाहेरी प्राप्त भइसकेको छ भने थप जाहेरीहरू आउन सक्ने सम्भावना रहेको प्रहरीको भनाइ ।