पोखरा । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले समग्र पत्रकारिता र सञ्चार क्षेत्रलाई व्यवस्थित गर्न आम सञ्चार विधेयक ल्याउने तयारी मन्त्रालयले गरेको बताउनुभएको छ ।
“पत्रकारितालाई जिम्मेवार र मर्यादित बनाउन नीतिगत सुधारको आवश्यकता देखिएको छ”, उहाँले भन्नुभयो,“प्रिन्ट, बोडकास्ट र अनलाइन मिडिया लगायत सञ्चार क्षेत्रलाई व्यवस्थित गर्न आम सञ्चार विधेयक ल्याउने तयारी गरिएको हो, विधेयक ल्याउँदा नेपाल पत्रकार महासंघसहित सरोकार राख्ने सबैसँग छलफल गरेर निर्माण गरिने छ ।”
सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र सञ्चारिका समूह गण्डकीको आयोजनामा शनिबार पोखरामा भएको पत्रकारितामा महिलाहरुको सहभागिता तथा विकासका लागि सरोकारवालासँगको छलफल कार्यक्रममा उहाँले सञ्चार क्षेत्रको नीतिगत सुधारको लागि आम सञ्चार विधेयक, मिडिया काउन्सिल विधेयक र साइबर अपराध नियन्त्रण गर्न साइबर सुरक्षा विधेयक पनि ल्याउन लागिएको बताउनुभयो ।
साइबार अपराध नियन्त्रण गर्न साइबर सुरक्षा विधेयक मन्त्रिपरिषद्बाट पास भएकोले संसदमा पेश गर्ने चरणमा पुगेको उहाँको भनाइ छ ।“ मिडिया काउन्सिल विधेयक छिट्टै पारित हुने उहाँले बताउनुभयो । डिजिटल प्लेट फर्ममा प्रेस स्वतन्त्रताको दुरुपयोग भएकाले यसलाई पनि व्यवस्थित गर्नतर्फ मन्त्रालय लागि परेको उहाँको भनाइ छ । सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङले सामाजिक सञ्जालको नियमन अत्यन्त जरुरी भएको बताउनुभयो ।
उहाँले गोरखापत्र, रेडियो नेपाल, नेपाल टेलिभिजन र राष्ट्रिय समाचार समितिलाई पनि नयाँ ढंगले अगाडि बढाउने योजनामा मन्त्रालय रहेको बताउनुभयो। सरकारी सञ्चार माध्यमलाई सार्वजनिक सेवामा लैजाने गरी काम अघि बढेको उहाँको भनाइ छ । “सरकारी मिडियाले प्रधानमन्त्री, सञ्चार मन्त्री वा सरकारको प्रशंषा गर्नुपर्दैन,”उहाँले भन्नुभयो,“राज्य र जनतालाई बलियो बनाउने गरी काम गर्नुपर्दछ ।”
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले प्रविधिको विकाससँगै पत्रकारितामा चुनौती थपिएको बताउनुभयो । कार्यक्रममा सञ्चारिका समूह गण्डकीले सञ्चालन गर्दै आएको सञ्चारिका पत्रकारिता पुरस्कार–२०७९ बाट राष्ट्रिय सूचना आयोगका आयुक्त दुर्गा भण्डारी र सञ्चारिकता पत्रकारिता पुरस्कार–२०८० बाट पत्रकार जमुना वर्षा शर्मालाई नगद २० हजारसहित पुरस्कृत गरिएको थियो । यसैगरी गुरुङ ब्युटी एकेडेमी पत्रकारिता अवार्डबाट म्याग्दीका पत्रकार देवी जिसीलाई नगद १० हजारसहित पुरस्कृत गरिएको थियो । कार्यक्रममा राष्ट्रिय सूचना आयोगका आयुक्त दुर्गा भण्डारी, प्रेस काउन्सिल सदस्य केशवशरण लामिछाने, पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेल, पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बराल, सञ्चारिका समूह गण्डकीका अध्यक्ष कविता श्रेष्ठ, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका उपसचिव ममता बास्तोला लगायतले सञ्चार क्षेत्रको बारेमा बोल्नुभएको थियो ।