नवौँ प्रधानमन्त्री कप भलिबलमा १४ टिम सहभागी हुने

नवौँ प्रधानमन्त्री कप भलिबलमा १४ टिम सहभागी हुने

volley ball

पोखरा । पोखरामा आगामी जेठ ८ गतेबाट सुरु हुने नवौं प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबलमा १४ टिमको सहभागी हुने भएका छन् । जेठ १५ गतेसम्म पोखरा रंगशालामा हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजक नेपाल भलिबल संघले मंगलबार पोखरामा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

भलिबल संघका अध्यक्ष जीतेन्द्रबहादुर चन्दका अनुसार प्रतियोगितामा पुरुषतर्फ हेल्प नेपाल स्पोर्टस् क्लब, नेपाल एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलीस क्लब, कोशी प्रदेश, गण्डकी प्रदेश भलिबल संघ, सुदूरपश्चिम प्रदेश र मणिमुकुन्द क्लब रुपन्देही सहभागी हुँदैछन् । महिलातर्फ नेपाल पुलिस क्लब, नेपाल एपिएफ क्लब, न्यु डायमन्ड युथ स्पोर्टस् क्लब, त्रिभुवन आर्मी क्लब, एभरेस्ट भलिबल क्लब बुटवल र कर्णाली प्रदेशले प्रतिष्पर्धा गर्ने चन्दले बताउनुभयो ।

राउन्ड रोबिनका आधारमा खेलाइने प्रतियोगितामा दुबै विधामा विजेताले ८ लाख, दोस्रोले ४ लाख र तृतीयले २ लाख रुपियाँ प्राप्त गर्ने नेपाल भलिबल संघका महासचिव रोशन श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार उत्कृष्ट लिब्रो, सरभर,ब्लकर, लिफ्टर, स्पाइकर र टिम प्रशिक्षकले जनही २५÷२५ हजार रुपियाँ पाउनेछन् ।

प्रतियोगतामा सहभागी हुने टिमले ३ जना विदेशी खेलाडी राख्ने पाउने प्रावधान राखिएको अध्यक्ष चन्दले बताउनुभयो । प्रतियोगितामा सहभागी खेलाडीको दुर्घटनामा बिमाकोसमेत व्यवस्था गरिएको नेपाल भलिबल संघले जानकारी दिएको छ । प्रतियोगिताको उद्घाटन नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया