पोखरा । पोखराको सृजनाचोकमा रहेको मनिका रेष्टुरेण्टमा प्रहरीले छापा मार्दा ५ जना महिलालाई उद्धार गरेको छ। कास्की जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले ती महिलाहरूलाई उद्धार गरी सुरक्षित आवास (सेफ हाउस) मा राखेको हो। अवैध यौन क्रियाकलाप भइरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले छापा मारेको हो ।
रेष्टुरेण्ट सञ्चालकसहित ३ जनालाई मानव वेचविखन तथा ओसारपसारसम्बन्धी अभियोगमा पक्राउ गरिएको प्रहरीको भनाइ छ। पक्राउ परेकामध्ये रेष्टुरेण्ट सञ्चालक पदम लुङ्बा (४०), पोखरा मालेपाटन निवासी तेजनारायण तिमिल्सिना (५१) र तनहुँ व्यास नगरपालिका वडा नं. ५ निवासी सलन गुरुङ (२१) छन्। लुङ्बा मकवानपुरको वकैया गाउँपालिका वडा नं. ४ स्थायी बासिन्दा हुन्। उनी हाल सृजनाचोकस्थित उक्त रेष्टुरेण्ट सञ्चालन गर्दै आएका थिए।
उनीहरूलाई कास्की जिल्ला अदालतबाट मानव वेचविखन तथा ओसारपसारसम्बन्धी कसुरमा ६ दिन म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अघि बढाइएको कास्की प्रहरीका प्रवक्ता डिएसपी हरिबहादुर बस्नेतले बताए । प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार पीडित महिलाहरूलाई विभिन्न प्रलोभन देखाई यौन शोषणमा लगिएको आशंका गरिएको छ। प्रहरीले मानव वेचविखनमा संलग्न अन्य व्यक्तिहरुको खोजी समेत तीव्र पारेको जनाएको छ।