रुस–युक्रेन युद्धमा ज्यान गुमाउने नेपालीको संख्या ७३ पुग्यो

रुस–युक्रेन युद्धमा ज्यान गुमाउने नेपालीको संख्या ७३ पुग्यो

काठमाडौँ ।  रुसी सेनामा भर्ती भएर युक्रेनसँग युद्ध मोर्चामा खटिएका थप २३ नेपालीको मृत्यु पुष्टि भएको छ । योसँगै रुसी सेनामा भर्ती भएर युक्रेनसँग युद्धमा मारिने नेपालीको संख्या ७३ पुगेको छ । रुस–युक्रेन युद्धमा बेपत्ता भई डीएनए परीक्षणका लागि नमुना पठाएकामध्ये अझै ५० जनाको ‘रिपोर्ट’ आउन बाँकी छ ।

परराष्ट्र मन्त्रालयका अनुसार पुस ९ यता थप २३ जनाको मृत्यु पुष्टि भएको हो । मस्कोस्थित नेपाली दूतावासले परराष्ट्र मन्त्रालयमा पठाएको विवरणअनुसार पछिल्लो पटक मृत्यु हुनेमा नवलपरासीका हेमकुमार मगर, दार्चुलाका ललितसिंह डोबल, सल्यानका ताराप्रकाश घर्ती, संखुवासभाका रामकृष्ण अधिकारी, कास्कीका गीतबहादुर घर्तीमगर, बागलुङका मख्खनबहादुर पुन, मकवानपुरका रामकुमार प्रधान, मोरङका रोनल मिश्र, प्यूठानका भीमबहादुर घर्तीमगर, म्याग्दीका छमबहादुर घर्ती, बैतडीका अर्जुनदत्त भट्ट, सुर्खेतका सुजन शर्मा र रुकुम पश्चिमका रामकुमार बुढामगर छन् ।

ठेगाना नखुलेका अन्य १० जनामा लरबहादुर बुढा, नेत्रबहादुर थापा, विकास राई, रूपक राई, महेन्द्र मल्ल, अशोक जीसी, अमृत थापा आलेमगर, उदयराज थारू, प्रितम राई र प्रेमबहादुर लुंगेलीमगर रहेका छन् । कन्सुलर विभागले मृत्यु प्रमाणित भइसकेकाका परिवारलाई सम्पर्क गरी जानकारी दिइसकेका छन् । उनीहरूमध्ये धेरैजसो एक वर्षदेखि परिवारको सम्पर्कमा थिएनन् ।

युद्धमा खटिएका र फर्किएका नेपालीका अनुसार रुसले युद्धसम्बन्धी पूर्ण तालिम नदिई ‘रेड जोन’ मा पठाउँदा मानवीय क्षति बढेको हो । परराष्ट्र मन्त्रालयका अनुसार मृत्यु प्रमाणित हुनेको संख्या अझै बढ्ने सम्भावना छ । रुसले गत वर्षको चैतदेखि नै रुसी सेनामा कार्यरत नेपाली नागरिकको पहिचानका लागि पारिवारिक सदस्यको डीएनए नमुना पठाइदिन बेपत्ता भएका नेपालीको नामसहितको विवरण पठाउन थालेको छ । आजको कान्तिपुर दैनिकमा समाचाार छ ।

प्रतिक्रिया