पोखरा । पोखरामा जारी प्रथम लायन्स कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबलमा विभागीय टोली एपीएफले गण्डकीलाई हराउँदै सेमिफाइनलमा प्रवेश गरेको छ । एपिएफको जितसँगै समूह ‘ए’ बाट सेमिफाइनल पुग्ने टोलीको टुंगो लागेको छ ।
लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ एम नेपालको आयोजनामा पोखरा रंगशालास्थित कभर्ड हलमा शनिबार भएकोे खेलमा गण्डकी प्रदेशलाई ३–२ को सेटमा एपिएफले पराजित गरेको हो । पहिलो सेट १९–२५ ले गुमाएको एपिएफले दोस्रो सेट २५–१८ ले आफ्नो पक्षमा पारेको थियो । यस्तै, तेस्रो सेट २३–२५ ले गुमाएको थियो ।
एपीएफले ३ अंकले पछि परेको अवस्थामा चौथो सेटमा लगातार १२ अंक लिँदै २५–१४ ले जित निकाल्दा खेल पाँचौं सेटमा धकेलिएको थियो । पाँचौं सेटमा सुरुआतबाटै अग्रता बनाएको एपिएफले १५–११ ले जित निकालेको हो । पराजयसँगै गण्डकी प्रदेश प्रतियोगिताबाट बाहिरिएको छ । एपिएफ पहिलो खेलमा इरानसँग पराजित भएको थियो । प्रतियोगितामा समूह ‘ए’ बाट इरानी टोली विजेता र एपिएफ उपविजेताको रुपमा अन्तिम चारमा स्थान बनाएका हुन् ।
आजको दोस्रो खेल समूह ‘बी’ अन्तर्गत नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच हुँदैछ । उक्त खेल नतिजाले सेमिफाइनल समीकरण टुंगो लाग्नेछ । पुलिस र भारतीय टोलीले समूह ‘बी’ मा एकएक जित दर्ता गराएका छन् । आर्मी भने जितविहीन छ । लायन्स कप भलिबल पहिलो पटक पोखरामा आयोजना गरिएको हो ।