पोखरा । प्रथम लायन्स कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगितामा पाहुना टोलीले विजयी सुरुवात गरेको छ ।
लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ एम नेपालको आयोजनामा पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा बिहीबार भएको उद्घाटन खेलमा इरानको टोलीले विभागीय टोली एपिएफलाई ३—१ को सेटमा पराजित गरेको हो । इरानी टोलीले पहिलो सेट २५—२०, तेस्रो सेट २५–२३ र चौथो सेट २५–१९ ले एपिएफलाई पराजित गरेको हो । दोस्रो सेटमा एपीएफले ३१–२९ ले इरानी टोलीलाई हराएको थियो ।
भलिबलमा सहभागी ६ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा इरानी टोली, एपीएफ र गण्डकी प्रदेश छन् । भने समूह ‘बी’ मा भारतीय टोली, त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब छन् । दुबै समूहबाट शीर्ष दुर्ईमा रहने टोलीले सेमिफाइनल खेल्नेछन् । फाइनल खेल वैशाख २२ गते हुनेछ ।
प्रतियोगिताको विजेताले ४ लाख ४४ हजार ४ सय ४४ र उपविजेताले २ लाख ४४ हजार ४ सय ४४ रुपियाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । तेस्रो हुने टोलीले १ लाख ४४ हजार ४ सय ४४ पाउनेछ । सर्वोत्कृष्ट खेलाडीलाई १४ हजार ४ सय ४४ र विधागततर्फ उत्कृष्ट हुनेलाई ८ हजार ४ सय ४४ रुपियाँ प्रदान गरिनेछ । लायन्सको माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा भलिबलको प्रवद्र्धन र अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार गर्ने लक्ष्य आयोजकको छ । प्रतियोगिताको उद्घाटन पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले गर्नुभएको हो ।