पोखरा । पोखरा महानगरपालिका वडा नम्बर २८ कालिकास्थित दुरारमडाँडामा अर्ध नारीश्वर दिव्य धाम निर्माण गरिने भएको छ । अर्धनारीश्वर दिव्य धाम धार्मिक सांस्कृतिक तथा पर्यटन प्रवद्धन संस्था गठन गरी धाम निर्माण थालनी गरिएको हो । धामको कार्यालय भवनको बुधबार शिलान्यास गरिएको छ । वडा नम्बर २८ का वडा अध्यक्ष श्रीकृष्ण लामिमछानेले उक्त धामको भवनको शिलान्यस बुधबार गर्नुभएको हो ।
४४ करोडको लागतमा धाम निर्माणको डिपिआर तयार गरिएको संस्थाका सचिव राजेश घिरिले जानकारी दिनुभयो । संघ सरकारको पर्यटन मन्त्रालयले धामको लागि विनियोजन गरेको ४५ लाखको बजेटमा कार्यालय भवन निर्माण गर्न लागिएको हो । उक्त स्थानलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउने योजनाका साथ कामको थालनी गरिएको संस्थाका उपाध्यक्ष हरि त्रिपाठीले जानकारी दिनुभयो ।
शिलान्यास कार्यक्रममा बोल्दै वडाध्यक्ष लामिछानेले वडा भित्र रहेको धार्मिक तथा पर्यटकीय गन्तव्यको संरक्षण र सम्वद्र्धनलाई वडाले प्राथमिकतामा राखेको बताउनुभयो । उहाँले धामको डिपिआर अनुसार संरचना बनाउन केही वर्ष लाग्ने भएपनि भवन शिलान्यासले कामको थालनी भएको बताउनुभयो । कार्यक्रममा पोखरा २८ का निवर्तमान वडाध्यक्ष निर्मल दियाली सुनारले यो ठाउँलाई कालिकाको प्रमुख गन्तव्य बनाउनुपर्नेमा जोड दिनुभयो । संस्थाका अध्यक्ष तीलकशाली अधिकारीले अर्ध नारेश्वर महादेवको एक सय आठ फिट अग्लो मूर्तिका साथै पार्क, उद्यान, आश्रम लागयत विभिन्न संरचना निर्माण गर्ने योजना रहेको बताउनुभयो । दुरारम डाँडाबाट अन्नपूर्ण हिमश्रृखलाको साथै पोखरा उपत्यकाका तालसहित मनोरम दृश्य अवलोकन गर्न सकिन्छ ।