माछापुच्छ्रेको ल्वाङ गाउँमा ३१ औं चैते दशैं मेला

माछापुच्छ्रेको ल्वाङ गाउँमा ३१ औं चैते दशैं मेला

p kc 2

पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं ८ स्थित पर्यटकीय ल्वाङ गाउँमा ऐतिहासिक ३१ औं चैते दशैं मेला आजदेखि सुरु भएको छ । चैत्र दशैं मेलाको निकाश, पर्यटन संस्कृति र ग्रामिण पर्यटनको विकास’ भन्ने नाराका साथ स्थानीय ग्रिन हिल क्लबको आयोजनामा सुरु मेलाको एक कार्यक्रमका बीच गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले उद्घाटन गर्नुभयो ।
कार्यक्रममा उहाँले चिया खेतीका कारण मिनि इलामका रुपमा परिचित ल्वाङ गाउँमा आँर्फैमा महत्वपूर्ण पर्यटकीय गन्तव्य भएको बताउनुुभयो । युवा सकृयतामा विगत लामो समयदेखि चैते दशैँ मेला आयोजना गरिदै आइएको उल्लेख गर्दै आम युवामाझ सकारात्मक सोचको अभिबृद्धि बर्तमानको आवश्यकता भएको बताउनुभयो । हाम्रो अपेक्षा विद्यमान सिमित स्रोतसाधन भन्दा बढी भएका कारण सबै समस्या एकैपटक समाधान हुन सम्भव नभएको भन्दै उहाँले समयसँगै समस्याहरु क्रमशः समाधान हुँदै जाने बताउनुुभयो ।देशमा केही भएन भन्ने भन्दा पनि भइरहेका काम हेरेर हामी स्वयम् सकारात्मक बन्न जरुरी रहेको र युवामा सकारात्मक सोच निर्माण गर्नु अहिलेको आवश्यकता भएको उहाँको भनाइ छ ।

पोखराबाट करिब २४ कि. मि. को छोटो दुरीमा अवस्थित पर्यटकीय गन्तव्यको रमणीय ल्वाङ गाउँ आन्तरिक साथै वाह्य पर्यटकहरूको गन्तब्य भएको उहाँले उल्लेख गर्नुुभयो । यस क्षेत्रका पूर्वाधार विकासका लागि प्रदेश सरकारको निरन्तर साथ र सहयोग रहने मन्त्री केसीको भनाइ छ ।पर्यटकीय गाउँहरू धम्पुस र ल्वांगलाई मितेरी सम्बन्ध लगाउन चालु आ.ब.मा घट्टेखोला धम्पुस सडकको ठेक्का व्यवस्थापन भएर सम्झौता भईसकेको जानकारी दिदै उहाँले अब छिट्टै नै घट्टेखोला धम्पुस सडकमा निर्माण व्यवसायीले कार्य आरम्भ गर्ने र यी दुई गाउँको भगिनी सम्बन्ध स्थापित बन्ने विश्वास व्यक्त गर्नुभयो ।

गण्डकी प्रदेश सभा सदस्य गणेशमान गुुरुङले गण्डकी प्रदेशमा मगर र गुरुङ भाषालाई सरकारी कामकाजको भाषा बनाउने गरी विधेयक ल्याउने तयारी गरिएको जानकारी दिनुुभयो । सरकारले घरेलु मदिरालाई ब्राण्डिङ गर्ने गरी विधेयक अघि बढाएको बताउँदै उहाँले आगामी दिनमा घरेलु मदिरा कसरी गुणस्तरीय बनाउने हो त्यसतर्फ लाग्न पनि सुझाउनुुभयो । ग्रिन हिल क्लबका अध्यक्ष सुजन गुरुङले गाउँको पर्यटन प्रवद्र्धन एवम् संस्कृतिको जगेर्ना गर्ने उद्देश्यका साथ मेला आयोजना गरिएको जानकारी दिनुुभयो ।

उक्त अवसरमा ल्वाङ गाउँमा प्राचीन कालदेखि सञ्चालन हुँदै आएको कटुवाल प्रथालाई निरन्तरता दिन आफ्नो जीवनको ५५ वर्ष समय योगदान गर्नुुभएका ज्येष्ठ नागरिक हस्तबहादुर परियारलाई क्लबका तर्फबाट दोसल्ला र सम्मापत्र प्रदान गर्दै मन्त्री केसीले सम्मान गर्नुुभएको थियो । उक्त अवसरमा सडक निर्माणका क्रममा आवश्यक जग्गा दानगर्ने जग्गादातालाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा नेकपा एमाले कास्कीका उपसचिव लालबहादुर परियार, पूर्वाधार विकास कार्यालयका प्रमुख सोभित खड्का, ल्वाङ समितिका अध्यक्ष हितकाजी गुरुङ, एक्याप ल्वांगका प्रमुख लेखनाथ गौतम, लगायतले बोल्नुुभएको थियो । आगामी चैत २७ गतेसम्म चल्ने मेलामा क्लबस्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता लगायत विभिन्न सांकृतिक कार्यक्रम हुने जनाइएको छ ।

प्रतिक्रिया