तस्बिर : सशस्त्र प्रहरी बल
पोखरा । कास्कीको अन्नपूर्ण आधार शिविर(एबिसी) पुगेर फर्किने क्रममा हिम पहिरोमा परेर निधन हुनुभएका चिनियाँ नागरिकको शव काठमाडौँ लगिएको छ ।
अन्नपूर्ण गाउँपालिका वडा नम्बर ११ देउरालीस्थित चुम्रुङबाट २७ वर्षीय चेङयुअने गत चैत ११ गतेदेखि बेपत्ता हुनुभएकोमा १३ दिनपछि शनिबार शव फेला परेको थियो । सशस्त्र प्रहरी बल कालिका गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक सूर्य तिमिल्सेनाले चिनियाँ नागरिकको शव सिम्रिक एयरको हेलिकप्टरमार्फत् काठमाडौँको शिक्षण अस्पताल पठाइएको जानकारी दिनुभयो । प्रहरीका अनुसार शवको पोस्टमार्टम गरी आफन्तलाई बुझाइसकिएको छ । उहाँका आफन्तले शवलाई आइतबार चिन लैजाने तयारी गरेका छन् ।
झोला बोकेको र घोप्टो परेको अवस्थामा उहाँको शव फेला परेको थियो । उहाँको खोजीमा नेपाल प्रहरीको साथै कालिका गणका सशस्त्र प्रहरी निरीक्षक विश्वराज त्रिपाठीको कमान्डमा विपद् व्यवस्थापन टोली खटिएको थियो ।