पोखरा । दोस्रो संस्करणको केपी ओली कप टी ट्वान्टी राष्ट्रिय खुल्ला पुरुष क्रिकेट प्रतियोगिता पोखरामा हुने भएको छ । मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनमा हुने प्रतियोगिता पोखरा रंगशालास्थित क्रिकेट मैदानमा चैत २३ देखि ३० गते सम्म सञ्चालन हुनेछ ।
एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले शनिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार प्रतियोगितामा १६ टिम सहभागी हुनेछन् । २९ भन्दा बढी क्लबले प्रतियोगितामा सहभागी हुन चाँसो देखाएकाले १६ टिम सहभागी गराउने तयारी गरिएको उहाँको भनाइ छ ।
एकेडेमीले १२ टिमलाई सहभागी गराउने योजनाका साथ तयारी थालेको थियो । ८ दिन सम्म चल्ने प्रतियोगिताले नयाँ खेलाडी उत्पादनमा योगदान दिने आचार्यको भनाइ छ । १ करोड ३० लाख खर्च लाग्ने अनुमान गरिएको प्रतियोगिताका विजेता टिमले नगद १० लाख र उपविजेताले नगद ५ लाखका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।
त्यस्तै म्यान अफ दी सिरिजले नगद ३० हजार, बेष्ट बलर, बेष्ट ब्याटरले जनही नगद रु १० हजार र म्यान अफ दी म्याचले नगद ५ हजारका साथमा ट्रफी प्राप्त गर्ने आचार्यले बताउनुभयो । प्रतियोगिता लिग कम नकाउटका आधारमा खेलाइनेछ । पत्रकार सम्मेलनमा एकेडेमीका एकेडेमीका उपाधयक्ष राजेश गुरूङ, सचिव कृष्ण तिमिल्सेनाले प्रतियोगिताका बारेमा बोलेका थिए । पोखरामै भएको पहिलो संस्करणको उपाधि मधेश प्रदेशले जितेको थियो ।