आजदेखि  माध्यामिक शिक्षा परीक्षा (एसइई)सुरु,  पाँच लाख विद्यार्थी सहभागी हुँदै

आजदेखि  माध्यामिक शिक्षा परीक्षा (एसइई)सुरु,  पाँच लाख विद्यार्थी सहभागी हुँदै

see exam

काठमाडौं ।  यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आजदेखि सरु हुँदैछ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षाको सम्पूर्ण तयारी पूरा भइसकेको छ । आज बिहान ८ बजदेखि परीक्षाा सुरु हुनेछ भने विद्यार्थीले  अनिवार्य अंग्रेजी विषयको परीक्षाा दिनेछन् । परीक्षा १९ गतेसम्म सञ्चालन हुने छ ।

परीक्षामा सहभागी हुन पाँच लाख १४ हजार ७१ विद्यार्थीले फाराम भरेका छन् । तीमध्ये कति जना परीक्षामा सहभागी हुने छन् भन्ने यकिन छैन । परीक्षा सञ्चालनका लागि मुलुकभर दुई हजार ७९ परीक्षा केन्द्र निर्धारण गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक (कक्षा १०) नन्दलाल पौडेलका अनुसार परीक्षाका लागि सबै जिल्लामा उत्तरपुस्तिका र प्रश्नपत्र पुर्‍याइसकिएको छ ।

परीक्षामा अनिवार्य विषयका लागि प्रदेश अनुसार फरक फरक प्रश्नपत्र तयार पारिएको छ । ऐच्छिक विषयमा भने विद्यार्थी सङ्ख्याको आधारमा कुनैमा दुई प्रकारको र कुनैमा एक प्रकारको मात्रै प्रश्नपत्र छापिएको छ । यस पटक जापानबाट २९ जना परीक्षार्थीले एसइईमा सहभागिता जनाउँदै छन्, जुन जापानमा सञ्चालित नेपाली भाषाको विद्यालयका विद्यार्थी हुन् ।

जापानका लागि पनि उत्तरपुस्तिका पठाइसकिएको छ भने प्रश्नपत्र परीक्षाकै समयमा त्यहाँ रहेको नेपाली दूतावासमार्फत पठाइने छ । त्यहाँको परीक्षा सञ्चालन दूतावासमार्फत नै गरिने परीक्षा नियन्त्रक पौडेलले जानकारी दिनुभयो । परीक्षालाई थप समावेशी बनाउन यस वर्ष बाल सुधारगृह र कारागारमा समेत गरी तीन वटा विशेष परीक्षा केन्द्र निर्धारण गरिएको छ । परीक्षाको गुणस्तर कायम राख्न र नक्कललाई निरुत्साहित गर्न विशेष निगरानीको व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सबै विद्यार्थीले न्यायोचित अवसर पाउनका लागि मन्त्रालय प्रतिबद्ध रहेको बताउँदै परीक्षालाई सफलतापूर्वक सम्पन्न गर्न सबै सरोकारवाला निकायहरूको सहयोग आवश्यक रहेको बताउनुभयो ।

मन्त्री भट्टराईले परीक्षा सञ्चालनमा कुनै पनि कमजोरी स्वीकार्य नहुने स्पष्ट पार्दै स्थानीय र प्रदेश सरकारसँग समन्वय र सहकार्यबाट मात्रै परीक्षा सफलतापूर्वक सम्पन्न हुने बताउनुभयो । नियमविपरीत कार्य गर्ने जोकोहीलाई पनि कठोर कारबाही गरिने चेतावनी दिँदै उहाँले परीक्षाको मर्यादा कायम राख्न नसकेमा शिक्षा विकास तथा समन्वय एकाइका प्रमुखहरूसमेत जिम्मेवार हुनुपर्ने बताउनुभयो ।

कास्कीमा ११ हजार ३७ विद्यार्थी एसइईमा सहभागी हुँदै

यस वर्षको माध्यामिक शिक्षक परीक्षा (एसइई) मा कास्कीबाट ११ हजार ३७ विद्यार्थी सहभागी हुने भएका छन् । शिक्षा विकास तथा समन्वय इकाइ कास्कीका प्रमुख लोकनाथ आचार्यका अनुसार  १ सय २२ सामुदायिक विद्यालय र १ सय ६५ संस्गाथत विद्यालयका विद्यार्थीका लागि ३६ वटा परीक्षा केन्द्र तोकिएको छ । पोखरा महानगरपालिकामा ३३, अन्नपूर्ण गाउँपालका २ र रुपा गाउँ पालिकामा एक परीक्षा केन्द्र तोकिएको आचार्यले बताउनुभयो । सराङकोटमा रहेको बाल सुधार गृहबाट १६ जना, दृष्टिविहीन ८ जना र लेखनाथ रहेको सिर्जना बहिरा माविबाट २० जना सुस्तश्रवण विद्यार्थीले परीक्षा दिने भएका छन् ।

कास्कीमा साधारणतर्फ नियमित ९ हजार ७ सय ९५ र ग्रेड वृद्धिमा १ हजार ३४ गरी १० हजार ८ सय २९ विद्यार्थी सहभागी हुनेछन् । प्राविधिकतर्फ नियमित १ सय ८४ र ग्रेड वृद्धिका २४ गरी २ सय ८ विद्यार्थीले परीक्षा दिने आचार्यले बताउनुभयो । आचार्यका अनुसार प्राविधिक धारतर्फ र २०७८ र ७९ का पुरानो पाठ्यक्रमका ३९ जना विद्यार्थीको परीक्षा केन्द्र पोखराको नयाँबजारस्थित नवप्रभात माविमा तोकिएको छ ।

परीक्षालाई व्यवस्थित र मर्यादित बनाउनेतर्फ कार्यालय लागि परेको आचार्यको भनाइ छ । कास्कीमा रहेका ५ वटा स्थानीय तह मध्ये माछापुच्छे« र मादी गाउँपालिकामा परीक्षा केन्द्र तोकिएको छैन । विद्यार्थीलाई सहज हुने गरी यातायात र सडक पूर्वाधार नभएका कारण २ स्थानीय तहमा परीक्षा केन्द्र तोक्न नसकिएको आचार्यको भनाइ छ ।

विद्यार्थीलाई निर्धक्क र भयरहित वातावरणमा परीक्षा दिने वातावरण मिलाउन कार्यालयले सम्बन्धित सरोकार राख्ने सबैसँग समन्वय र सहकार्य गरिरहेको आचार्यले बताउनुभयो । आचार्यका अनुसार परीक्षाको समयमा कुनै गुनासो वा समस्या भए तत्काल समाधान गर्न गरी प्रविधि मैत्री संंयन्त्र निर्माण गरिएको छ ।

प्रतिक्रिया

भर्खरै