पत्रकार आचारसंहिता र नेपाली मिडियामा प्रयोगसम्बन्धी नेजाको अन्तरक्रिया

पत्रकार आचारसंहिता र नेपाली मिडियामा प्रयोगसम्बन्धी नेजाको अन्तरक्रिया

WhatsApp Image 2025-03-17 at 21.45.29

टेक्सास, अमेरिका ।

नेपाल अमेरिका पत्रकार संघ (नेजा) टेक्सासको ड्यालसमा ‘पत्रकार आचारसंहिता, विश्वव्यापी अभ्यास र नेपाली मिडियामा प्रयोग’ विषयक अन्तरक्रिया गरेको छ । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतको प्रमुख आतिथ्यतामा आइतबार टेक्सासको युलेस लाइब्रेरीमा आयोजना गरिएको कार्यक्रममा नेपाली पत्रकारिताको वर्तमान अवस्था र आचारसंहिताका सम्बन्धमा सो अन्तरक्रिया गरिएको हो ।

प्रमुख अतिथि एवं प्रेस काउन्सिल नेपालका अध्यक्ष बस्नेतले सो अन्तरक्रियामा नेपाली मिडियामा पछिल्ला वर्षहरूमा देखिएको समस्या एवम् द्विविधाका बारेमा प्रस्ट पार्नुभएको थियो । बस्नेतले कन्टेन्ट क्रियटर र पत्रकारबीचको फरक, काउन्सिलले गरिरहेका कार्य र आगामी दिनमा अघि बढाइएका योजनाका साथै विश्वका शक्तिशाली मुलुकका सञ्चारमाध्यमले खोल्ने भूमिका एवम् ती सञ्चारमाध्यमहले गर्ने प्रयोगबारे प्रस्ट पार्नुभएको थियो । वर्तमान अवस्थामा युट्युब सञ्चालनलाई कानुनी दायरामा ल्याउन र युट्युब सञ्चालकले सिर्जना गर्ने सामाजिक एवं पारिवारिक सामग्रीमाथि काउन्सिलले पछिल्ला वर्षहरुमा निगरानी बढाउन थालेको बताउनुभयो । अध्यक्ष बस्नेतले नेपाली मिडियामा देखिएका समस्याबारे गरिएका प्रश्नको जवाफमा नेपाली पत्रकारितामा आचारसंहिताको प्रयोग बढ्दै गएको बताउनुभयो ।

कार्यक्रममा बोल्दै अध्यक्ष बस्नेतले बिदेशबाट सञ्चालित नेपाली मिडियामा प्रकाशित सामग्रीहरुले स्वदेश र विदेशमा रहेका नेपाली समुदायमा प्रभाव पार्ने भएकाले पत्रकार आचारसंहिता पालना गर्नुपर्ने बताउनुभयो । पछिल्लो समय सामाजिक सञ्जाल दुरुपयोग गरी भ्रमपूर्ण, अफवाहपूर्ण, गालीगलौजपूर्ण सामग्री सम्प्रेषण भइरहेको चर्चा गर्दै सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रेस काउन्सिलले राज्यका निकायसँग समन्वय गरी पहल गरिरहेको अध्यक्ष बस्नेतले जानकारी दिनुभयो । साथै, विदेशमा सञ्चालित नेपाली मिडियाको लक्षित वर्ग पनि नेपाली समुदाय भएकाले मिडियाले आचारसंहिताको पालना गरेर नेपाल र नेपाली समुदायको हितमा सहयोग गर्नुपर्नेमा अध्यक्ष बस्नेतले जोड दिनुभयो ।

पछिल्ला समयमा नेपालमा सञ्चारकर्मीपिच्छे सञ्चारमाध्यम खुल्न थालेका र त्यसलाई नियमन गर्न काउन्सिलले नयाँ कार्यविधि अघि बढाएको बस्नेतले बताउनुभयो ।‘नेपालका मिडियाहरुले सुरु गरेको एआईको प्रयोगलाई समेत काउन्सिलले नियालिरहेको छ, विकसित मुलुकहरुमा मिडियाले गरिरहेका प्रविधिको प्रयोगलाई समेत नेपाली मिडियाहरुले पच्छ्याइरहेका छन्, जसले गर्दा अहिले तथ्य जाँचमा समेत टेवा पुगेको छ,’ अध्यक्ष बस्नेतले भन्नुभयो । सामाजिक सञ्जालमा गरिने झुटो र आधारहीन पोस्टहरुलाई पत्रकारले लेखेको भन्ने आमजनमानसमा बुझाइका कारण केही समस्या हुने गरेको बस्नेतले बताउनुभयो । त्यसका लागि काउन्सिलले नयाँ अवधारणा ल्याउन र नेपालमा पत्रकार र कन्टेन्ड क्रियटर एकअर्कामा फरक हुन् भनेर बुझाउन जरुरी भइसकेको दाबीसमेत बस्नेतले गर्नुभयो । अध्यक्ष बस्नेतले सञ्चारमाध्यम एवं सामाजिक सञ्जाल सञ्चालकलाई जिम्मेवार एवम् संयमित बनेर समाचार एव सूचना प्रवाह गर्नसमेत आग्रह गर्नुभयो ।

सञ्चारकर्मी विनय गुरागाईंले सो कार्यक्रममा विषयवक्ताको रुपमा भूमिका निर्वाह गर्नुभएको थियो । विषयवक्ता गुरागाईंले पत्रकार आचारसंहिता र यसको प्रयोगका बारेमा प्रस्ट पार्नुभएको थियो । गुरागाईंले विश्वभर पत्रकारिताको अवस्था, प्रविधिको प्रयोग, नेपालमा काउन्सिलले खेल्नुपर्ने भूमिकाबारे विस्तृत रुपमा समेटेर कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । वर्तमान अवस्थामा नेपाली पत्रकारितामा केही नयाँ आयामहरु थपिएको बताउँदै नेपालका ठूला मिडिया हाउसहरुले प्रविधिको भरपुर प्रयोग गरिरहेको विषयवक्ता गुरागाईंले बताउनुभयो । पत्रकारले समाचार प्रवाह गर्दा आचारसंहिताको दायराभित्र बसेर गर्नुपर्नेमा जोड दिँदै समाचार सिर्जना गर्दा पत्रकार संयमित र जिम्मेवार नबन्दा समाजमा पत्रकारिताबीच प्रश्न उठ्ने गरेको गुरागाईंले बताउनुभयो । गुरागाईंले विद्युतीय सञ्चारमाध्यममा समाचार प्रकाशन गर्दा जिम्मेवार र जवाफदेहीका साथ गर्नुपर्ने बताउँदै एक पटक प्रकाशन भएको समाचार अनलाइन सञ्चालकले हटाउँदैमा त्यो नहट्ने बताउनुभयो । त्यसरी हटाएका समाचार सर्वरमा बसिरहने र आवश्यक परे त्यो सजिलै प्राप्त गर्न सकिने बताउनुभयो ।

कार्यक्रमको अध्यक्षता गर्दै नेजाका अध्यक्ष सुरज भण्डारीले अमेरिका र क्यानाडामा करिब ३ सय नेपाली पत्रकार रहेको र दुई देशका नेपाली पत्रकारसँग नेजाले समन्वय गर्दै आएको बताउनुभयो । यसैगरी, नेजाले समुदायमाझ आवश्यक विषयवस्तुलाई प्राथमिकताका साथ उठाएर विविध विषयमा विषयविज्ञमार्फत त्यसलाई प्रस्ट पार्ने गरेको बताउनुभयो । यसैगरी, अध्यक्ष भण्डारीले एक दशकको अवधिमा अमेरिकामा नेपाली भाषाका सञ्चारमाध्यमको निकै बढेको बताउँदै हाल अमेरिकामा ५० भन्दा बढी अनलाइन न्युज पोर्टल सञ्चालनमा रहेको बताउनुभयो । यस्तै, कोभिडपछि नेपाली भाषाका पत्रिका बन्द हुन पुगेको हुँदा त्यसलाई पुन:सञ्चालनका सम्बन्धमा नेजाले पहल गरिरहेको भण्डारीले बताउनुभयो । यस्तै, आचारसंहिता आफैलाई अनुशासनमा बाँध्ने सूत्र भएको बताउँदै अध्यक्ष भण्डारीले नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले सदस्य पत्रकारहरुका लागि आचारसंहिता निर्माण गरि जिम्मेवार बनाउन प्रयास गरेको उल्लेख गर्नु भयो । भण्डारीले

समुदायका अगुवाले विदेशी भूमिमा नेपाली पत्रकारप्रति गरेको सहयोग, सहकार्यप्रति आभार व्यक्त गर्नुभयो ।

यसैगरी, कार्यक्रममा नेजाका सल्लाहकार सञ्जय घिमिरेले प्रविधिको बढ्दो विकाससँगै प्रविधिको मात्र प्रयोग गरेर सञ्चारमाध्यमका नाममा बढ्दो द्विविधा र विकृतिप्रति काउन्सिललाई थप निगरानी गर्न आग्रह गर्नुभयो । घिमिरेले नेपाली मिडियामा पछिल्लो समय केही अराजकता पनि देखिएकाले त्यस्ता मिडियलाई हदैसम्मको कारबाही गर्न काउन्सिल हिच्किचाउन नहुने धारणा राख्नुभयो ।

यस्तै, कार्यक्रम सञ्चाल गर्दै नेजाका महासचिव बाबुराम दाहालले अमेरिकामा बसोबास गर्ने नेपाली समुदायको जनसंख्या दिनानुदिन बढिरहेको हुँदा यहाँ रहेका नेपाली पत्रकारले थप जिम्मेवार बनेर व्यावसायिक पत्रकारितामार्फत समुदायलाई सेवा गर्ने वातावरण निर्माणमा नेजाले भूमिका खेल्दै आएको र त्यसैअनुरुप यो कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । नेजाका मध्य क्षेत्रीय संयोजक शंकर थापाले धन्यवाद मन्तव्य रहेको कार्यक्रममा युलेस सिटीका उपमेयर टीका पौडेल, एनआरएनए आईसीसी, एनआरएनए एनसीसी, जनसम्पर्क समिति टेक्सास, प्रवासी नेपाली मञ्च टेक्सास, रास्वपा टेक्सास, टेक्सासमा रहेका विभिन्न संघ-संस्था, सामाजिक अभियन्ता, समाजसेवी एवं पत्रकारहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया