वन क्याम्पसमा अनेरास्ववियू र क्रान्तिकारीको प्यानल विजयी

वन क्याम्पसमा अनेरास्ववियू र क्रान्तिकारीको प्यानल विजयी

foresty-campus abhishekh sharma

पोखरा ।  पोखराको वन क्याम्पसमा अनेरास्ववियु र अखिल क्रान्तिकारीको प्यानल विजयी भएको छ ।मंगलबार राति सार्वजनिक अन्तिम मत परिणामअनुसार अध्यक्षमा अनेरास्ववियुका अभिषेक शर्मा निर्वाचित हुनुभयो । शर्माले नेविसंघका उत्तम हुमागाईंलाई ८२ मतले पराजित गर्नुभयो । शर्माले २ सय ३० मत पाउँदा हुमागाईंले १ सय ४८ मत प्राप्त गरेको निर्वाचन समिति संयोजक डा. रामचन्द्र शर्माले जानकारी दिनुभयो ।

सचिवमा क्रान्तिकारीका गौरव खड्का २ सय २६ मत ल्याएर निर्वाचित हुनुभयो । सचिवमा नेविसंघका दिपेन्द्रप्रसाद रौनियारले १ सय ४८ मत प्राप्त गर्नुभयो । कोषाध्यक्षमा अनेरास्ववियुकी प्रतिमा श्रेष्ठले २ सय २४ मत ल्याउँदा नेविसंघकी जानकी गुर्धामीले १ सय ५४ मत पाउनुभयो ।

सदस्यमा अनेरास्ववियुका सुनिलसिंह भण्डारीले २ सय ४७, सिद्धान्त खनालले २ सय ३२, अखिल (क्रान्तिकारी)की रिया श्रेष्ठले २ सय २५, प्रकट ढुंगाना र भिभोर शाहले समान २ सय ३० मत प्राप्त गर्नुभयो । अनेरास्ववियुले अध्यक्ष, कोषाध्यक्ष र २ जना सदस्य तथा क्रान्तिकारीले सचिव र ३ सदस्य लिने सहमति गरेर प्यानल बनेको थियो । क्याम्पसमा ४ सय ५० मतदातामा ३ सय ८३ मत खसेको थियो । पोखराको इन्जिनियरिङ क्याम्पसमा मत गणना जारी छ । पृथ्वीनारायण र जनप्रिय क्याम्पसमा चुनाव स्थगित भएको छ । संस्कृत क्याम्पसमा भने चैत १० गते निर्वाचन हुँदैछ ।

प्रतिक्रिया