पोखरा । निजी तथा संस्थागत विद्यालय शिक्षक कर्मचारी युनियन (प्याब्सु) कास्कीको चौंथो अधिवेशनले विजयराज अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा गंगा आले, सचिव कल्पना गुर्माछान, कोषाध्यक्ष मीना भण्डारी चयन भएका छन् ।
सदस्यमा विद्या अर्याल, मोतिमाया गुरुङ, मिजास तिवारी, प्रज्ञान तिमिल्सिना, महेश पौडेल, शर्मिला धमला रहेका छन् । समितिको कार्यकाल २ वर्षको हुनेछ । यसअघि अधिवेशनको उद्घाटन प्याब्सुका केन्द्रीय अध्यक्ष शिवलाल उपाध्यायले गरेका थिए ।
प्याब्सुले विद्यालयलाई अनिवार्य रुपमा योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन माग गरेको छ । आगामी शैक्षिक सत्रदेखि आफूहरुले राखेका ९ बुँदे माग पूरा नभए आन्दोलन गर्ने चेतावनी संस्थाको छ । देशभर रहेका निजी विद्यालय मध्ये १० प्रतिशत विद्यालय मात्र सामाजिक सुरक्षाकोषमा आवद्ध र कास्कीमा ६ वटा मात्र निजी विद्यालय सामाजिक सुरक्षा कोषमा आवद्ध भएको केन्द्रीय अध्यक्ष उपाध्यायको भनाइ छ । कास्कीकाे अधिवेशनमा सामाजिक सुरक्षाा काेषामा आवद्ध हुने ६ विद्यालयलाई सम्मान गरिएको थियो ।