पोखरा । बिमा कम्पनीबाट रकम असुल्ने गलत मनसाय राखेर आफ्नै पसलमा आगो लगाउने एक जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पर्साको जगरनाथपुर गाउँपालिका ३ स्थायी घर भई पोखराको तालचोक बस्ने २८ वर्र्षीय रमेश शर्मा लोहार रहेको कास्कीका प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाले जानकारी दिनुभयो । उहाँका अनुसार लोहारले पोखरा न्युरोडस्थित शर्मा आइटी हबमा लोहारले गत फागुन १६ गते आगो लगाएका हुन् । गत पुसमा सञ्चालन गरिएको पसलको लोहारले माघमा शिखर इन्स्योरेन्समा एक करोड बराबरको बिमा गराउनुभएको थियो ।
आगलागी भएको ३ दिनपछि लोहारले वडा प्रहरी कार्यालय बैदाममा मोबाइल चार्जमा राखेर बाथुरुम गएको र फर्कदा केही पड्किएको आवाज आई आगोलागी भएको भनीे बिमा रकम दाबीको लागि शिखर इन्स्योरेन्समा निवेदन दिएको प्रहरीले बताएको छ । लोहार प्रहरीकोमा ९४ लाख बराबरको धनमाल नष्ट भएको भनी निवेदन दिनुभएको थियो । मासिक ३५ हजार भाडा तिर्ने गरी गत पुसदेखि लोहारले शर्मा आइटी हब सञ्चालन गर्नुभएको हो ।
पसलमा २ जना कामदार भएको र उनीहरु बिदामा भएको मौका पारी बिमाबाट रकम असुल्ने नियत राखेर शर्माले पसलमा आगलागी गरेको एसपी ओलियाले बताउनुभयो । पं्रहरीका अनुसार आगलागी हुनु भन्दा २ दिनदेखि पसल बन्द रहेको थियो । लोहारले विगत ५ वषदेखि पोखराको तालचोकमा शर्मा आइटी सोलुसन पसल सञ्चालन गर्दै आएको पनि प्रहरीले बताएको छ ।
कामदार बिदामा रहेको अवस्था र गत माघ महिनामा बिमा गराएको रकम दाबी गर्ने दुषित मनसाय राखेकाले आपराधिक प्रवेश तथा आपराधिक उपद्रब सम्बन्धी मुद्दामा अनुसन्धान अगाडि बढेको प्रहरीको भनाइ छ । कास्की जिल्ला अदालतले लोहारलाई ७ दिन थुनामा राख्न प्रहरीलाई अनुमति दिएको छ ।