पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले विश्वमाझ नेपाललाई परिचित गराउन वीर गोर्खाली सैनिकको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ । भारतीय, ब्रिटिश तथा सिंगापुर गोर्खा पुलिसका गोर्खा समुदायबाट २०६६ सालमा स्थापित गोर्खा कम्युनिटी पोखराले आयोजना गरेको तेस्रो संस्करणको गोर्खा मेलाको शुभारम्भ गर्दै प्रदेश प्रमुख भट्टले राष्ट्रियताको लागि गोर्खा समुदायले ठूलो योगदान पुर्याएको बताउनुभयो ।
‘वीर गोर्खालीकै कारण नेपाल कहिल्यै कसैको उपनिवेश हुन परेन । विदेशी मुद्रा आर्जनको श्रोत गोर्खा सैनिकहरु नै छन् ।’ उहाँले भन्नुभयो – ‘नेपालीहरुले गोर्खाको नाममा बेलायती र भारतीय सेना तथा सिंगापुर प्रहरी फौजमा गरेको लामो र अति विशिष्टिकृत सेवाले यी मुलुकहरुसँग शताब्दी लामो मित्रताको आधार बनेको छ ।’ भट्टले गोर्खाहरुले जीवनका उर्जाशील वर्षहरुलाई विदेशी भूमिमा विभिन्न ओहदामा खर्चेर अवकाश प्राप्त गरी मातृभूमि नेपालमा फर्केर आफ्नो सीप र दक्षतालाई आयमूलक काम र सामाजिक योगदानमा समर्पित गरिरहेको पाएको उल्लेख गर्नुभयो ।
प्रदेश प्रमुख भट्टले गोर्खाहरुले शताब्दीदेखि ब्रिटिश र भारतीय सेनाका लागि धेरै योगदान गरेको बताउँदै सम्बन्धित देशहरुले गोर्खाहरुको योगदान र बलिदानीको सम्मान गरी कुनै भेदभाव विना समान सेवासुविधा प्रदान गर्दै आफ्नो मुलुकको सुरक्षामा गरेको योगदानको कदर गर्नुपर्नेमा जोड पनि दिनुभयो ।