पोखरा । ‘आख्यान लेख्नेहरुले सबैभन्दा बढी गैरआख्यान पढ्नुपर्छ,’ आख्यानकार छुदेन काविमोले भने । बुकवर्म फाउन्डेसनको आयोजनामा पोखरामा जारी एनसेल फाउन्डेसन १२औं नेपाल लिटरेचर फेस्टिभलको ‘आख्यानको स्रोत’ सेसनमा आख्यानकार छुदेनले धरातल, इतिहास थाहा नभई त्यसमा कल्पना गर्न नसकिने उल्लेख गरे । ‘धरातल, इतिहास थाहा नभई त्यसमा कल्पना गर्न सक्नुहुन्न । पहिला रिसर्च गर्ने हो । त्यसपछि कल्पना हाल्ने हो । त्यसरी पो उपन्यास बन्ने हो कि,’ उनले भने ।
उक्त सेसनमा आख्यानकार छुदेनसहित लेखकद्व विवेक ओझा र प्रगति राईले आख्यान कसरी लेख्ने ? आख्यानको स्रोत के के ? भन्ने विषयमा चर्चा गरे । सेसनको सहजीकरण दीपक पराजुलीले गरेका थिए । लेखक विवेक ओझाले लेख्ने विषय आफ्नो फिलिङ्समा निर्भर हुने उल्लेख गरे । मोमेन्ट वा परिस्थितिले पनि विषयलाई प्रभाव पार्ने उनको तर्क छ । ‘कुनै पनि पात्र होस् । कुनै पनि मोमेन्ट होस् । अथवा कुनै पनि परिस्थिति होस् । त्यसले सुरुमा दिमागमा क्लिक गर्छ,’ उनले भने, ‘कसरी गर्दो हो भनेर विचार गर्दाखेरि म के महशुस गरिराखेका छु । मेरो फिलिङ्समा चाहिँ निर्भर हन्छ ।’
लेखक प्रगति राईले आफुले आख्यान लेख्दा विषयअनुसार पात्र चयन गर्ने बताइन् । काल्पनिक भएर पनि यथार्थ जनाउन सक्ने खालको पात्र चयन गर्नेमा उनले जोड दिइन् । ‘मैले एउटा विषय लिएको हुनाले त्यो विषयअनुसारको पात्र चयन गर्छु । जस्तो मैले छोरीलाई भविष्यको अधिकार अहिलेसम्म लेख्दै आएको छु । त्यसको लागि आफ्नो कथा लगाउनै पाउँदैन । किनभने मेरो छोरीहरु नै छैनन्,’ उनले भनिन् ।
उनले थपिन्, ‘त्यसकारण मैले विषयलाई सुहाउँदो नयाँ पात्र काल्पनिक पात्रहरु । जो काल्पनिक भएपनि यथार्थ जनाउछ । त्यस्तो पात्रहरुलाई मात्र राख्ने गर्छु ।’ आख्यानकार छुदेनले कुनै विषयमा लेख्दा पहिला अनुसन्धानमा फोकस हुने बताए । विषयसँग जोडिन सकिएपछि सुहाउँदो पात्र निस्कने उनको तर्क थियो । ‘यो विषयमा लेख्छु भनिसकेपछि मैले के गर्छु भने अनुसन्धानमा फोकस गर्छु । रिचर्स गर्ने हो । ठाउँलाई बुझ्ने हो । त्यो गर्दा के हुन्छ भने त्यो विषयमा लेखिराखेको छु,’ उनले भने, ‘त्यो विषय जहाँसँग जोडिएको छ । त्यो भूगोलसँग पनि प्रेम भएर जाने । त्यसपछि जन्मिएको पात्रको सम्बन्ध बनेर जाने ।’
लेखनको यात्रा सुरु भएपछि केके कुरा आवश्यक हुन्छ अनुसन्धान गर्दै जाने लेखक ओझाले सुनाए । आकार लिएपछि बल्ल लेखाईको यात्रा सुरु हुने ओझाले बताए ।‘कथा लेखन हो भने कथाको आकार लिन्छ । उपन्यास लेख्ने हो भने उपन्यासको आकार लिन्छ । जब यो विषयमा आख्यान लेख्छु भनेर दिमाग आउँछ,’ उनले भने, ‘त्यो विषयका हरेक कुराहरु हामीलाई थाहा नहुन पनि सक्छ । त्यसपछि बल्ल लेखनको जर्नि सुरु हुन्छ जस्तो लाग्छ । कुन कुन कुरा आवश्यक हो । त्यो अनुसन्धान गर्ने हो ।’
लेखक प्रगतीले अहिलेको समाजलाई परिकल्पना गरेर लेख्दा अहिलेको समाजलाई काम लागेपछि भविष्यको जेनेरेसनले बुझ्न नसक्ने सुनाइन् । ‘जो समाज छ । यो समाजलाई अझै अर्काे तरिकाले परिकल्पना गरेर म चाहिँ लेख्छु । त्यो चाहिँ वतर्मान समाजका लागि काम लाग्यो । यो वर्तमान समाजलाई यस्तो खालको हुनुपर्छ भनेर परिकल्पना गरेर मैले परिवर्तन गर्छु । अहिलेको समाजलाई काम लाग्ला । तर, ५० वर्षपछिको जेनेरेसनले अहिलेको समाजलाई कसरी बुझ्छ त ?,’ उनले भनिन् । उनले थपिन्, ‘डिटेलमा कसरी बुझ्ने भन्दाखेरि जो लेखकले वर्तमान समाजलाई चित्रण गरेर उतारेको हुन्छ । त्यो किताब चाहिँ अली बढी काम लाग्दो हुन्छ ।’