पोखरा । पोखरा भ्रमण वर्ष लेखिएको ब्यानरसहितको बेलुन उडाउने क्रममा शनिबार दिउँसो बेलुन पड्किँदा घाइते हुनु भएका अर्थ मन्त्री विष्णु पौडेल र पोखरा महानगर प्रमुख धनराज आर्यालाई काठमाडौं लगिएको छ । उहाँहरुलाई हेलिकप्टरबाट काठमाडौं लगिएको हो । दुबै जनको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ । बेलुद पड्कदा आचार्यको गाला र टाउकोको केही भाग जलेको छ भने उपप्रधानमन्त्री पौडेलको टाउको र अनुहार जलेको छ ।
कीर्तिपुर अस्पतालले एक विज्ञप्ति निकालेर पौडेल र आचार्यको उपचारका लागि उच्च निगरानीमा राख्नुपर्ने बताएको छ । अस्पतालले विज्ञप्ति सार्वजनिक गर्दै प्रारम्भिक मूल्याङ्कनमा उहाँहरूको अनुहार ५–६ प्रतिशत जलेकाले उच्च निगरानीमा उपचार आवश्यक रहेको बताएको हो ।
अस्पतालका निर्देशक किरण किशोर नकर्मीले सार्वजनिक गर्नुभएको विज्ञप्तिमा भनिएको छ, ‘उहाँहरूको प्रारम्भिक मूल्याङ्कन अनुसार ५–६ प्रतिशत जलेको तर अनुहारमा जलन भएकोले श्वासनली र फोक्सोमा असर पर्नसक्ने सम्भावना रहेकोले उच्च निगरानीमा उपचार गर्नुपर्ने आवश्यकता देखिन्छ।’ उहाँहरूको उपचारमा डा. बिडी झा, डा. प्रवीण गिरी, प्रा.डा. शंकरमान राई, डा. विशाल कार्की, डा. मनिष यादव, डा. प्रयुस अर्यालसँगै नर्सिङतर्फ रिना गौचन, निर्मला कुँवर, तृष्ण महर्जन संलग्न हुनुहुन्छ।
घटनापछि तत्कालै उपचारका लागि आचार्यलाई फिस्टेल अस्पताल र उपप्रधानमन्त्री पौडेललाई गण्डकी मेडिकल कलेजमा लगिएको थियो। पोखरामा सामान्य उपचारपछि जलनको उपचारका लागि उहाँहरूलाई हेलिकोप्टरमार्फत् काठमाडौँ लगिएको हो ।