पोखरा । उज्बेकिस्तानको टिम ब्ल्याक बुल्स फुटबल क्लबले २४ औँ संस्करणको आरा रारा पोखरा गोल्ड कप उचालेको छ । शनिबार पोखरा रङ्गशालामा भएको फाइनल खेलमा ६ पटकको विजेता नेपाल पुलिस क्लबलाई ३—१ ले हराउँदै उपाधि जितेको हो । आरा रारामा पहिलो पटक सहभागी भएको टिमलाई जिताउन अखामडोभ, ओरिफजोनोभ र साट्टोरोभले एक÷एक गोलको योगदान दिनुभयो । खेलको ४० औँ मिनेटमा टिमका क्याप्टेनसमेत रहनुभएका अखामडोभले गोल गरेर टिमलाई अग्रता दिलाउनुभयो ।
खेलको ५९ औँ मिनेटमा ओरिफजोनोभ अग्रतालाई दोब्बार पार्नुभयो । खेलको ६६ औँ मिनेटमा साट्टोरोभले अर्को गोल थपेर जितलाई सुनिश्चित गर्नुभयो ।सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट खेलाडीको पुरस्कार साट्टोरोभले नै पाउनुभयो । सर्वोत्कृष्ट खेलाडी साट्टोरोभलाई स्कुटर प्रदान गरिएको छ । खेलमा नेपाल पुलिस क्लबका शिशिर चौधरीले ७४ औँ मिनेटमा एक गोल गर्नुभयो ।
प्रतियोगिताका विजेताले भएको ब्ल्याक बुल्स टिमले नगद १२ लाख १ हजार रुपियाँसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्याे । उपविजेता बनेको नेपाल पुलिस क्लबले ६ लाख १ हजार रुपियाँसहित सिल्ड, मेडल र प्रमाणपत्र पायो । प्रतियोगितामा उदीयमान खेलाडीको पुरस्कार नेपाल पुलिस क्लबका सञ्जीव लामा, अनुशासित टिमको पुरस्कार थन्डर युनाइटेड भारतलाई प्रदान गरियो । गोल्ड कपमा बेस्ट किपर ब्ल्याक बुल्सका किपर राजाबोभ, बेस्ट डिफेन्डर बुल्सकै अलिजोनोभ, बेस्ट मिडफिल्डर पुलिसका राम वाजी, बेस्ट स्टाइकर बुल्सका अजिजबेक र बेस्ट प्रशिक्षक बुल्सकै अब्दुलाजिज घोषित हुनुभयो ।
उनीहरुलाई जनही २५ हजार रुपियाँसहित ट्रफी प्रदान गरियो । खेलाडीहरुलाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, उपसभामुख विना थापा, मुख्य प्रायोजक हिमश्री फुड्सका कार्यकारी निदर्लेशक किरण केसी, सहारा क्लबका अध्यक्ष केशवराज बराल लगायतले पुरस्कार वितरण गर्नुभएको थियो । माघ २२ गतेबाट सुरु भएको प्रतियोगितामा १२ टिम सहभागी भएका थिए ।