पोखरा । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पर्यटन प्रवद्र्धनमा धार्मिक क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ ।
पोखरा महानगरपालिका वडा नम्बर १८ सराङकोटस्थित निर्माणाधीन सराङकोट धामको बिहीबार अवलोकन गर्नुहुँदै मन्त्री गुरुङले नेपालमा धार्मिक पर्यटनको प्रचुर सम्भावना भएको बताउनुभयो ।उहाँले सराङकोटमा निर्माण गरिएका मन्दिर लगायत अन्य संरचनाको अवलोकन गर्नुभएको हो । धार्मिक र ऐतिहासिक ठाउँको संरक्षणमा सरकारले ध्यान दिने उहाँको भनाइ छ ।
पर्यटकीय क्षेत्र सरङकोटलाई धामको रुपमा विकास गर्ने उद्देश्यले २०६३ देखि धाम निर्माण थालिएको हो । धाममा निर्माण सम्पन्न भएका नेपालकै ठूलो पञ्चमुखी गणेश मूर्ति, विशाल शिव मन्दिर, १०८ जलधारा, १०८ शिवलिङ्ग, भ्युटावर, बहुउद्देश्यीय भवनको मन्त्री गुरुङले अवलोकन गर्नुभयो । फागुन १४ गतेदेखि सुरु हुने धार्मिक पर्यटन महोत्सवको बारेमा पनि मन्त्री गुरुङलाई त्यस अवसरमा जानकारी गराइएको थियो । पोखरा महानगर प्रमुख धनराज आचार्यले धार्मिक आस्थासँगै पर्यटकलाई सराङकोटको प्राकृतिक सौन्दर्य र साँस्कृतिक महत्वको बारेमा जानकारी गराउने उद्देश्यले धार्मिक पर्यटन महोत्सव गर्न लागिएको बताउनुभयो ।
सराङकोट धार्मिक एवं पर्यटन क्षेत्र विकास समितिको पहलमा नेपाल सरकार, प्रदेश र स्थानीय तह, र स्थानीय सहयोगी दाताहरुको सहयोगमा धाममा ३५ करोड लगानी गरिएको अध्यक्ष प्रेमबहादुर जिसीले बताउनुभयो । उहाँका अनुसार बाँकी काम सम्पन्न गर्न थप १५ करोड रुपियाँ आवाश्यक रहेको छ । एक हजार एक सय एघार सदस्यीय समिति गठन गरी महोत्सवको तयारी गरिएको प्रचारप्रसार समिति संयोजक कृष्णबहादुर थापाले बताउनुभयो । धार्मिक पर्यटन महोत्सवमा भागवत भाष्कर कमलनयन गौतम प्रमुख वाचक रहनुभएको छ ।