१० देखि १४ वर्षका किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको  ‘एचपिभी खोप’ दिइँदै

१० देखि १४ वर्षका किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको  ‘एचपिभी खोप’ दिइँदै

कास्कीमा २६ हजारलाई खाेप लगाइँदै

district-health-kaski

काठमाडौं ।  आज  विश्व क्यान्सर दिवस । यही दिवसको अवसर पारेर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजदेखि देशभर पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क ‘एचपिभी खोप’ दिँदैछ । विद्यालय केन्द्रित यो खोप अभियान माघ २२ गतेदेखि फागुन ६ गतेसम्म देशभरि एकैपटक सञ्चालन गर्न लागिएको हो । नेपालमा महिलाहरूमा हुने क्यान्सरमध्ये पहिलो स्थानमा रहेको पाठेघरको मुखको क्यान्सरको जोखिमबाट जोगाउने उद्देश्यले मुलुकभर एपिभी खोप अभियान सञ्चालन गर्न लागिएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर करिब १७ लाख किशोरीलाई खोप दिन लागिएको छ । यस अभियानमा १६ लाख ८८ हजार सात सय ६८ जना किशोरीलाई खोप दिइने लक्ष्य सरकारले राखेको छ । विद्यालयमा अध्ययन गर्ने कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेरका किशोरीलाई खोप दिन लागिएको हो । मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले देशभरि तोकिएको उमेर समूहका किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध ह्युमन प्यापिलोमा भाइरस (एचपिभी) खोप दिन लागिएको बताउँदै सबैजना आआफ्नोतर्फबाट अभियानमा जोडिन आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, “हामीले पहिले पनि यसको ‘पाइलटिङ’ गरिसकेका छौँ । सफल परीक्षण भइसकेको छ । अभियान सफल बनाउन मन्त्रालय र विभिन्न तह र तप्काका निकायले सक्रिय योगदान गरेका छन् । दुई हप्तासम्म हुने यो अभियानका रूपमा सञ्चालन हुने भएकाले तोकिएको उमेर समूहका कोही पनि किशोरी नछुटुन् र नदोहोरिउन् भन्ने मान्यताका साथ खोप अभियानमा सरिक हुन आग्रह गर्दर्छौं ।”

स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखाको बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा अभियान गौतमले खोप अभियानमा १८ हजार नौ सय विद्यालयका खोप केन्द्र र आठ हजार दुई सय अन्य खोप केन्द्र रहने र २७ हजार ८० स्वास्थ्यकर्मी परिचालन हुने जानकारी गराउनुभयो । त्यसैगरी ५४ हजार एक सय ६० स्वयंसेवक खटाइनेछन् भने १५ हजार छ सय ७४ जना सुपरिवेक्षकहरू संलग्न हुनेछन् ।

कास्कीमा २६ हजारलाई खाेप लगाइँदै 

कास्कीका पाँच वटै स्थानीय तहका गरी २६ हजार २ सय ९६ जनालाई खोप लगाउने लक्ष्य राखिएको प्रदेश जनस्वास्थ्य कायर्कालय कास्कीले बताएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय कास्कीका परिवार नियोजन निरीक्षक नरबहादुर सारुले खोप लगाउन विद्यालयलाई लक्षित गरी ४ सय १ केन्द्र निर्धारण गरिएको जानकारी दिए ।

कास्कीको मादी गाउँपालिकामा पुस २९ देखि फागुन १ गतेसम्म, माछापुच्छ्रे गाउँपालिकामा फागुन १ र २ गते, अन्नपूर्ण गाउँपालिकामा २२ देखि २७ गतेसम्म, रुपा गाउँपालिका २२ देखि २५ गतेसम्म र पोखरा महानगरपालिकामा माघ २२ देखि फागुन ६ गतेसम्म नै अभियान चल्ने उनले जानकारी दिए । अभियानको शुभारम्भ आज  पार्दी मावि मुस्ताङचोकमा पूर्वान्ह १० बजे गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले गर्ने कार्यक्रम तय भएको प्रदेश जनस्वास्थ्य कार्यालय कास्कीका प्रमुख रामबहादुर नेपालीले जानकारी दिए । उनका अनुसार विद्यालय नजाने बालिकाहरुले पायक पर्ने विद्यालयमा रहेको खोप केन्द्रमा पुगेर खोप लगाउनुपर्नेछ ।

अभियान बेला महिनावारी भएपनि एचपिभी खोप लगाउन सकिने स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । एक अध्ययन अनुसर विश्वमा हरेक २ मिनेटमा एक जना महिला र नेपालमा ४ जना महिलाको मृत्यु पाठेघरको क्यान्सरबाट हुने गरेको छ ।

प्रतिक्रिया