पोखरा । एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगितामा आज दोस्रो क्वालिफायरका खेल हुने भएका छन् । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा जारी उक्त प्रतियोगिताको आठौं दिन आज पुरुष र महिलातर्फ दोस्रो क्वालिफायरका खेल हुने तालिका छ ।
पोखरा रंगशालास्थित भलिबल कोर्टमा हुने पहिलो खेल महिलातर्फको क्वालिफायर हुनेछ । बिहान ११ बजेबाट सुरु हुने उक्त खेलमा आयोजक टाइगर ग्रुप र टिपटप न्यू डायमण्ड क्लबबिच हुनेछ । टाइगर ग्रुप पहिलो क्वालिफायरमा सशस्त्र प्रहरी बल एपिएफसँग पराजित हुँदै दोस्रो क्वालिफायरमा पुगेको थियो । आयोजकलाई हराएको एपिएफ फाइनलमा पुगेको छ । न्यू डायमण्डले एलिमिनेटरमा नेपाल पुलिस क्लबलाई पराजित गर्दै दोस्रो क्वालिफायरमा स्थान सुरक्षित गरेको हो ।
दोस्रो खेल पुरुषतर्फको दोस्रो क्वालिफायर हुनेछ । साढे १ बजेबाट सुरु हुने उक्त खेल त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेशबिच हुने प्रतियोगिता संयोजक रामकृष्ण ज्ञवालीले जानकारी दिए । आर्मी पहिलो क्वालिफायरमा पुलिससँग पराजित भएको थियो । गण्डकीले एलिमिनेटरमा भारतको सुनिल भलिबल क्लबलाई पराजित गरेको थियो । दुवैतर्फको फाइनल खेल आइतबार हुनेछ ।
प्रतियोगिताको विजेताले ५ लाख ८५ हजार ५५५ रुपैयाँ पुरस्कार पाउनेछ । दोस्रो हुनेलाई २ लाख ८५ हजार ५५५ र तेस्रो हुनेलाई १ लाख ८५ हजार ५५५ रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।