पोखरा । पोखरामा भारतको ७६ औं गणतन्त्र दिवस मनाइएको छ । पोखरामा रहेको भारतीय पेन्सन वितरण कार्यालयको आयोजनामा दिवस मनाइएको हो । कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपाल र भारतबीचको सम्बन्ध साँचो मित्रता र साझेदारीमा आधारित रहेको बताउनुभएको छ ।
उहाँले आपसी विश्वास, सम्मान र सहकार्यले दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने बताउनुुभयो । गण्डकी प्रदेश भित्र शिक्षा, स्वास्थ्य, धार्मिक एवम् सांस्कृतिक लगायतका क्षेत्रमा भारत सरकार र मातहतका निकायबाट प्रत्यक्ष एवम् अप्रत्यक्ष रुपमा प्राप्त सहयोग प्रति मुख्यमन्त्री पाण्डेले आभार व्यक्त गर्नुुभयो ।
भारतीय सेनामा नेपालको गण्डकी प्रदेशबाटै ठूलो संख्यामा सहभागिता रहेको उल्लेख गर्दै मुख्यमन्त्री पाण्डेले यहाँस्थित पेन्सन वितरण कार्यलय यस क्षेत्रको महत्वपूर्ण संस्थाको रुपमा अघि बढेको बताउनुुभयो । आपसी निकटता र पारिवारिक सम्बन्धले हामीलाई अझ नजिक तुल्याएको बताउँदै उहाँले दुई देशबीचको खुल्ला सिमानाका कारण रोजगारी, पर्यटन प्रवद्र्धन, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा सहयोग आदानप्रदान भैरहेको उल्लेख गर्नुुभयो । दुई देशबीचको सांस्कृतिक एवम् ऐतिहासिक सम्बन्ध हजारौं वर्षदेखिको भएको बताउँदै उहाँले यी विषय रामायाण, महाभारतमा समेत उल्लेख भएको बताउनुुभयो ।
भारतीय पेन्सन वितरण कार्यलय पोखराका प्रमुख प्रशान्त सिहं बघेलले विश्वमा बहादुरी, बफादारी र कर्तव्यनिष्ठाको लागि प्रसिद्ध गोर्खाली सैनिक तथा उनका आश्रित परिवारको सेवारत एवम् सेवा निवृत पश्चात उनीहरुको आवश्यक सेवा र सुविधालाई सधै उच्च प्रथामिकताका साथ हेर्दै आएको बताउनुुभयो । भारतीय सेनाको इतिहासमा नेपालबाट सबै भन्दा धेरै गोर्खाली सैनिकको सहभागिता गण्डकी प्रदेशको विभिन्न जिल्लाहरूबाट भएको बताउँदै उहाँहरूले देखाएको बहादुरी र ईमान्दारीता प्रशंसायोग्य भएको बताउनुुभयो । पेन्सन वितरण कार्यालय पोखराले सन् २०२४ मा शिक्षा, स्वास्थ्य लगायत अन्य कल्याणकारी योजनाहरूमा गरेको सहयोग गरेको बताउँदै उहाँले त्यसका अतिरिक्त ३५ अरब रुपैया गण्डकी प्रदेशको भूपूहरूको पेन्सन मात्र उनीहरुको खातामा पठाउने गरिएको जानकारी दिनुुभयो ।
भारत सरकारले नेपालमा रहेका भूपुहरूको लागी धेरै राम्रो राम्रो योजनाहरू लागु गर्दै आएको उहाँले बताउनुुभयो । भारत सरकारले नेपालको शिक्षाका क्षेत्रमा महत्वपूर्ण सयहेग गरेको बताउँदै उहाँले नेपालमा एम्बुलेन्स, स्कुल बस, खानेपानी, बिजुली, शौर्य उर्जा जस्ता क्षेत्रहरूमा निरन्तर सहयोग गर्दै आएको बताउनुुभयो । कार्यक्रम्का अवसरमा नेपाल भारतीय गोर्खा सैनिक बोर्डद्वारा प्रकाशित जर्नल भू.पू.२०२५ लोकार्पण गरिएको थियो । कार्यक्रमका अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रमका साथै अमर प्राप्त गोर्खा सैनिकका सन्नतीलाई सम्मानका साथै विद्यार्थीहरूलाई पुरस्कृत गरिएको थियो ।