पोखरा ।
नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ र करेन्ट मिडिया एन्ड रिसर्च सेन्टरको संयुक्त आयोजनामा दोस्रो दक्षिण एसिया अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी काठमाडौंको भृकुटीमण्डपमा भव्य रूपमा सुरु भएको छ। पौष १७ देखि २१ गतेसम्म सञ्चालन हुने यस प्रदर्शनीमा नेपालसहित भारत, चीन, बंगलादेश, श्रीलंका, क्यानडा, इटाली र जिम्बावेका १५० भन्दा बढी प्रकाशकहरूले आफ्ना प्रकाशनहरू प्रदर्शनमा राखेका छन्।
यस प्रदर्शनीमा देश-विदेशका १५० भन्दा बढी स्टलहरू निर्माण गरिएका छन्। प्रदर्शनीले देशभरका पाठक, लेखक, शिक्षक, विद्यार्थी र पुस्तक व्यवसायीलाई एउटै थलोमा ल्याएको छ। पोखरा पुस्तक तथा स्टेशनरी व्यवसायी संघका अध्यक्ष गोविन्द गौतमका अनुसार पोखराबाट पनि उल्लेख्य संख्यामा व्यवसायी, पाठक र विद्यार्थीहरू प्रदर्शनी अवलोकन गर्न काठमाडौं तर्फ लागिसकेका छन्।
“पुस्तक व्यवसायी, प्रकाशक, लेखक, पाठकका लागि यो कार्यक्रम महत्वपूर्ण हुनेछ,” अध्यक्ष गौतमले भने। संघका उपाध्यक्ष ध्रुव पोखरेलले करिब २ लाख दर्शकले यो प्रदर्शनी अवलोकन गर्ने अनुमान गरिएको बताए। सो अवसरमा पोखरा बाट प्रदर्शनी अवलोकनमा पोखरा बाट पाठकहरु हिडिसकेको बताए ।
विभिन्न क्षेत्रका विज्ञहरूको छलफल र अन्तरक्रियाले प्रदर्शनीलाई अझै प्रभावकारी बनाएको छ। यस प्रदर्शनीले शिक्षा, साहित्य, कला र संस्कृति आदानप्रदान गर्दै दक्षिण एसियाली राष्ट्रहरूबीचको सम्बन्धलाई प्रगाढ बनाउने विश्वास गरिएको छ।
गत वर्षदेखि सुरु गरिएको यो प्रदर्शनीले पठन संस्कृतिको विकास र प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेलेको छ। यसले देशमा शैक्षिक र बौद्धिक जनशक्ति उत्पादनमा योगदान पुर्याउने अपेक्षा गरिएको छ ।