पोखरा । दोस्रो संस्करणको अन्तर्राष्ट्रिय ड्रागन बोट रेस फेस्टिभलमा चीनले दुवै विधामा सफलता प्राप्त गरेको छ । प्रतिस्पर्धामा नेपाल कुनै पनि उपाधि जित्न सफल भएन ।
फेवातालमा आयोजित २ सय र ५ सय मिटरका दूरीमा भएका फाइनल रेसमा चीनको डोङग्वान लाओयु क्लब टिमले शानदार प्रदर्शन गर्दै दोहोरो उपाधि हासिल गरेको हो । फेस्टिभलको फाइनल रेस सोमबार भएको थियो । जहाँ नेपाललाई पराजित गर्दै चीनले आफूलाई च्याम्पियन बनायो । डोङग्वान लाओयु क्लब टिमले २ सय मिटर र ५ सय मिटरका दूरीमा क्रमशः ४७.७२० सेकेन्ड र २ मिनेट ०४.४७ सेकेन्डको समय निकाल्दै उपाधि जितेको हो । योसँगै यस टिमले नगद पुरस्कार रूपमा १० हजार डलर प्राप्त गरेको छ ।
२ सय मिटरको फाइनल रेसमा चीनकै युनान मिन्जु युनिभर्सिटी टिमले केवल १ सेकेन्डको अन्तरले दोस्रो स्थान हासिल गरेको हो । यस टिमले ४८.२२० सेकेन्डमा निर्धारित दूरी पूरा गरेको थियो । तेस्रो स्थानमा रहेको चीनकै लिआओचिङ युनिभर्सिटी टिमले ५०.८३० सेकेन्डमा दूरी पार गरेको हो ।
५ सय मिटरको ड्रागन बोट रेसमा पनि चीनको प्रभाव कायम रह्यो । लिआओचिङ युनिभर्सिटी टिमले २ मिनेट ०७.३४ सेकेन्डमा दूरी पार गर्दै दोस्रो स्थान प्राप्त गरेको हो । तेस्रो स्थानमा रहेको युहान युनिभर्सिटी टिमले २ मिनेट ०८.४४ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै उपविजेता बन्न सफल भयो । यस प्रतियोगितामा भाग लिएका अन्य टिम पनि उत्कृष्ट प्रतिस्पर्धा प्रस्तुत गरेका थिए । यसरी दोस्रो संस्करणको अन्तर्राष्ट्रिय ड्रागन बोट रेस फेस्टिभलमा चीनले आफ्नो दबदबा कायम राख्दै नेपाललाई पछि पार्दै उत्कृष्ट प्रदर्शन गरेको छ ।