सूर्यदर्शन सहकारीका १९ प्रतिवादीलाई थप बिगो मागसहित पूरक अभियोग

सूर्यदर्शन सहकारीका १९ प्रतिवादीलाई थप बिगो मागसहित पूरक अभियोग

GB-rai-Suryadarshan-Sahakari-768×432

पोखरा ।  पोखराको सूर्यदर्शन सहकारी संस्थाको रकम अपचलन गरेको अभियोगमा १९ जना प्रतिवादीलाई थप बिगो माग दाबीसहित पूरक अभियोग दर्ता भएको छ । सहकारीका संस्थापक अध्यक्ष जीबी राईसहित १९ प्रतिवादीविरुद्ध कास्की जिल्ला अदालतमा मुद्दा विचाराधीन छ ।जिल्ला सरकारी वकिलको कार्यालयल कास्कीले शुक्रबार उनीहरुलाई थप बिगो माग दाबीसहित पूरक अभियोग दर्ता गरेको हो ।

जिल्ला अदालतका निमित्त स्रेस्तेदार ख्यामनारायण लामिछानेका अनुसार यसअघि गत १८ असोजमा १ अर्ब ११ करोड १९ लाख ४३ हजार ४५ बिगो मागदाबी गर्दै मुद्दा दर्ता गरिएकोमा अहिले थपेर १ अर्ब ५१ करोड ४० लाख १९ हजार १ सय ९४ कायम गरिएको हो । ती १९ जना प्रतिवादीलाई नै सहकारीको दफा ६ बमोजिम बिगो थप माग दाबी गरिएको छ । १९ मध्ये १६ जना प्रतिवादीलाई सहकारीको दफा ६ बमोजिम बिगो थपसहित संगठित अपराध ऐनको दफा ६ बमोजिम माग दाबी छ ।

जिबी रार्ईको हकमा मात्र सहकारीको दफा ६ बमोजिम बिगो थप, संगठित अपराध ऐनका दफा ६ सहित सम्पत्ति शुद्धीकरण र राष्ट्र बैंक ऐन अनुसारको दफा थपसहित पूरक अभियोग दर्ता हुन आएको नि. स्रेस्तेदारलामिछानेले संचारकर्मीलाई जानकारी दिए । शुक्रबार दायर पूरक अभियोगपत्रमा पूर्व गृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेलाई भने प्रतिवादी बनाइएको छैन । उनीहरुको हकमा कानुनको म्यादभित्र अभियोगपत्र आउने उनले बताए ।

प्रतिक्रिया