सोनाम ल्होसारको अवसरमा मिस तामाङ पोखरा हुने

सोनाम ल्होसारको अवसरमा मिस तामाङ पोखरा हुने

miss tamang

पोखरा । सोनाम ल्होसारको अवसरमा पोखरामा नवौं संस्करणको मिस तामाङ पोखरा हुने भएको छ । बैदाम तामाङ समाज पोखराले हरेक वर्ष जस्तै यस वर्ष पनि प्रतियोगिता आयोजना गर्न लागेको हो । माघ १२ गते पोखरा सभागृहमा हुने मिस तामाङ पोखराका लागि १३ जना तामाङ समुदायको युवतीले सहभागिता जनाउने कार्यक्रम संयोजक रोश्मा ब्लोन तामाङले बताए । प्रतियोगिहरुलाई विभिन्न विषयमा प्रदान गरिने तालिमको सुरुवात गरिएको संयोजक तामाङले जानकारी दिएका छन् ।

पहिलो दिनको ओरेन्टेसन कक्षाको सहजीकरण पोखरेली युवा साँस्कृतिक परिवारका निवर्तमान अध्यक्ष उपेन्द्र पौडेलले गरेका थिए । यस अघि नेपाल सरकार भाषा आयोगका पूर्वसदस्य भाषाविद् अमृत योञ्जनले तालिमको औपचारिक रुपमा सुरुवात गरेका थिए । तालिमको उद्घाटनमा बोल्दै भाषाविद् योञ्जनले हरेक भाषाहरु चेपुवामा पर्दै गएको सन्दर्भमा युवा पुस्ताालाई आफ्नो संस्कार, भाषा र भेषभुषा प्रति रुची जगाउने यस्ता कार्यक्रमले संरक्षणमा महत्वपुर्ण भूमिका खेल्ने बताए । तालिमका सहजकर्ता पौडेलले भाषा, संस्कार र संस्कृति सकियो भयो कुनैपनि समुदायको अस्तित्व विलुप्त हुने हुँदा यसतर्फ युवा पुस्ता सचेत हुनुपर्ने बताए ।

कार्यक्रममा रेडियो अन्नपूर्णका स्टेसन म्यानजेर तथा कार्यक्रमका तालिम र मिडिया संयोजक सञ्जय मल्ल, नेपाल तामाङ घेदुङ गण्डकी उपाध्यक्ष शिबु ब्लोन तामाङ, नेपाल तामाङ घेदुङ समन्वय समिति कास्कीका सचिव मीनमाया तामाङ, मिस तामाङ पोखरा २०२४ का विजेता रोशिला ब्लोन तामाङ, नेपाल तामाङ घेदुङ संघिय सदस्य सुजन ब्लोन तामाङ, बैदाम तामाङ सेवा समाजका अध्यक्ष ज्याक तामाङ, राम लामा लगायतले बोलेका थिए ।

सहभागीहरुलाई हरेक दिन विभिन्न विषयमा तालिम प्रदान गरिने कार्यक्रमका सहसंयोजक रोशिला ब्लोन तामाङले जानकारी दिए । प्रतियोगितामा लावनी तामाङ, सुप्रिया गोले तामाङ, सोनिका तामाङ, पूर्णिमा तामाङ, सुमिना तामाङ, प्रिन्सेस घिसिङ तामाङ, शिशा लामा,मञ्जिता पाख्रिन, जमुना लामा, सुनिता तामाङ, पवित्रा तामाङ, पूर्णिमा लामा र आकृति तामाङ सहभागी छन् । बैदाम तामाङ सेवा समाज कास्कीले हरेक वर्ष ल्होसारको अवसरमा मिस तामाङ पोखरा तथा ल्होसार म्युजिकल फेस्टिभल गर्दै आएको छ ।

प्रतिक्रिया