तीव्र रूपमा विकास भइरहेका तनहुँ सदरमुकाम दमौली पोखरा र भरतपुर नजिक पर्ने भएकाले यहाँ पर्याप्त जनसङ्ख्यालाई आकर्षित गर्न चुनौती थपिएको नयाँ सहर आयोजना डुम्रे भन्सारका कार्यालय प्रमुख अभिषेक अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो, “यस ठाउँलाई नमूना सहर बनाउने लक्ष्यसहित सरकारले नयाँ सहर घोषणा गरेको हो ।
नजिकै पर्ने ठूला सहरका कारण यहाँ बस्ती विकासमा समस्या भइरहेको छ ।” बस्ती विकास कार्यक्रम कार्यान्वयनमा समस्या उत्पन्न भएकामा सोको समाधान गर्न तथा त्यसका लागि स्थानीय जनतालाई सहमत गराउन चुनौती रहेको अधिकारीको भनाइ छ । “सहरको मुख्य आवश्यकताका रूपमा रहने शिक्षा, स्वास्थ्य र औद्योगिक पूर्वाधार निर्माण गर्नुपर्ने स्थानीय जनताको माग छ । ती मागमा नयाँ सहरको लगानी शून्य भएकाले जग्गा विकास कार्यक्रम अगाडि बढाउन समस्या भइरहेको छ”, उहाँले भन्नुभयो । कार्यालय प्रमुख अधिकारीले कार्यालयले विभिन्न आर्थिक, प्राविधिक तथा व्यवस्थापकीय समस्या भोगिरहेको भन्दै समथर भूभागमा जग्गा प्राप्तिको समस्या, भिरालो भूभागमा पूर्वाधार विकास गर्न कठिनलगायत रहेका जानकारी दिनुभयो ।
स्थानीय तहको योजना छनोटमा सक्रियता भए पनि योजना कार्यान्वयनका क्रममा उत्पन्न भएका समस्याको सहजीकरणमा अभाव देखिएको उहाँले उल्लेख गर्नुभयो । व्यवस्थित र योजनाबद्ध सहर र बस्ती विकासलाई अगाडि बढाउन शिक्षा, स्वास्थ्य, औद्योगिक पूर्वाधार, कृषिको आधुनिकीकरणलगायत क्षेत्रका लागि आवश्यक पूर्वाधारमा लगानी गर्नुपर्ने अधिकारीले जोड दिनुभयो । उहाँले भन्नुभयो, “२० वर्षमा रु ४४ अर्ब लगानी यस नयाँ सहरको कार्यक्षेत्रमा गर्ने भनी सुरू भएको आयोजनाको हाल दश वर्ष बितिसक्दा अपेक्षित पर्याप्त लगानी भएको पाइँदैन । नयाँ सहर आयोजनाको समग्र विकासमा लगानी बढाउनुपर्ने देखिन्छ ।”
नयाँ सहर आयोजना डुम्रे भन्सारको कार्यक्षेत्रअन्तर्गत बन्दीपुर क्षेत्रमा पर्यटकीय विकाससँग सम्बन्धित विषयमा लगानी बढाउनुपर्ने आवश्यकता रहेको अधिकारीको भनाइ छ । त्यस्तै भानु नगरपालिकाको भन्सार लगायतका क्षेत्रमा व्यापार व्यवसाय र औद्योगिक पूर्वाधार साथै व्यावसायिक कृषिका लागि पूर्वाधार निर्माणमा लगानी बढाउनुपर्ने उहाँले बताउनुभयो ।