काठमाडौं । नेपाल प्रिमियर लिग(एनपिएल) मा विराटनगर किंग्सले पहिलो जित निकालेको छ । बुधबारको दोस्रो खेलमा १ सय ९२ रनको लक्ष्य विराटनगरले १९.५ ओभरमा ८ विकेट गुमाएर पूरा गर्दा ओपनर लोकेश बमले सर्वाधिक ७१ रन जोडे ।
त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ९१ रनको बलियो योगफल तयार गरेको थियो । विराटनगरका लागि इस्मात आलम, कप्तान सन्दीप र राजेश पुलामी मगरले समान १ विकेट लिए । विराटनगरले लुम्बिनीका ४ खेलाडीलाई रन आउट गरेको थियो ।आजै भएको पहिलो खेलमा काठमाडौं गुर्खाजले कर्णाली याक्समाथि ३ विकेटको जित हासिल गरेको थियो ।
काठमाडौंले दोस्रो खेलमा पहिलो जित हात पार्दा कर्णालीले लगातार दोस्रो हार बेहोरेको हो । एनपिएलमा बिहीबार दुई खेल हुनेछन् । पहिलो खेल पोखरा एभेन्जर्स र जनकपुर बोल्ट्सबीच तथा दोस्रो खेलमा काठमाडौं गुर्खाज र सुदूरपश्चिम रोयल्सबीच खेल हुनेछ ।