सिरहा । सिरहाको भारतीय सिमानामा गाडीको ठक्करबाट एक सशस्त्र प्रहरीको मृत्यु भएको छ । बरियारपट्टी गाउँपालिका– १ कचनारीमा गाडीको ठक्करबाट सशस्त्र प्रहरीका नायब निरीक्षक लक्ष्मणप्रसाद यादवको मृत्यु भएको प्रहरीले बताएको छ ।
प्रहरीका अनुसार भारततर्फ मदिरा तस्करी गर्ने गाडीले उनलाई ठक्कर दिएको हो । गाडीको ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको र शव पोस्टमार्टमका लागि लहान प्रादेशिक अस्पताल लगिएको छ । घटनापछि सीमा नाकामा सुरक्षा कडा गरिएको छ । बोडर आउट पोस्ट (बिओपी) बरहरीमा कार्यरत उनी ड्युटीमै रहेका बेला आज बिहान करिब ३ बजे नम्बर खुल्न नसकेको चारपांग्रे गाडीले उनलाई ठक्कर दिएको थियो ।
तीब्र गतिमा आएको गाडीलाई उनले रोक्न खोजेपछि यादवलाई ठक्कर दिएर गाडी भारततर्फ भागेको प्रहरीले बताएको छ । भारतको बिहारमा मदिरा प्रतिबन्ध भएकाले मधेश प्रदेशको सीमावर्ती क्षेत्रबाट मदिरा तस्करी हुने गरेको र उक्त गाडी पनि मदिरा तस्करीका लागि प्रयोग भएको प्रहरीको भनाइ छ । उक्त गाडीको खोजीभइरहेको प्रहरीको भनाइ छ ।