पोखरा । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा पोखरामा जारी १७ औं हिसान कास्की स्पोर्टस् मिट आज समापन हँदैछ ।
स्पोर्टस् मिट अन्तर्गत बिहीबार सम्पन्न प्लस टु (कक्षा ११–१२) छात्रा–छात्रा र विश्वविद्यालय विङतर्फका ब्याडमिन्टनका सम्पूर्ण खेलहरु सम्पन्न भएका छन् । जस अन्तर्गत ब्याडमिन्टन प्लस टुतर्फ मदरल्यान्डले बाजी मारेको छ । समग्रमा मदरल्यान्डले माविले ७ अंक प्राप्त गर्दा प्रतिभा मावि दोस्रो हुँदै ५ र कास्की मोर्डनाइज्ड तेस्रो हुँदै ३ अंक हात पारेको ब्याडमिन्टनका संयोजक पुरन कुंवरले जानकारी दिए ।
त्यस्तै विश्ववद्यिालय विङतर्फ पोखरा लिंकन इन्टरनेशनल कलेज ७ अंका साथ पहिलो बन्दा पोखरा इन्जिनियरिङ कलेज ५ अंका साथ दोस्रो, इन्फर्मेटिक्स र पोखरा कलेज अफ म्यानेजमेन्ट ३–३ अंकका साथ तेस्रो स्थान प्राप्त गरे । छात्र प्लस टु सिंगल्समा प्रतिभाका विज्ञान भण्डारीले मदर ल्यान्डका दीप रानालाई २–१ को सेटमा पराजित गर्दा छात्रा सिंगल्समा केएमएकी प्रजु थापाले मदर ल्यान्डकी विशिष्ट केसीलाई २१–१६, २१–११ ले पाखा लगाइन् ।
छात्र सिंगल्समा मदर ल्यान्डका पृथक गुरुङ र प्रतिभाका सुमित सुनार र छात्रातर्फ सगरमाथाकी सदिक्षा खत्री र ग्लोबलकी प्रश्मिता खाँडले तेस्रो स्थान हात पारे । प्लस टु छात्र डबल्समा प्रतिभाका विज्ञान भण्डारी र सुमित सुनारको जोडीले मदर ल्याण्डका दिप राना र पृथक रानाको जोडीलाई २२–२०, २१–१७ ले पराजित गरे । यस्तै छात्रातर्फ केएमएका प्रजु थापा र आइशा संग्रौलाको जोडीले मदरल्याण्डका विशिष्ट केसी र उपसना पौडेललाई २१–१५, १६–२१ र २१–७ ले पराजित गरेका छन् ।
त्यस्तै छात्र डबल्समा सगरमाथाका समिर र सुमन अधिकारीको जोडी रेन्वोका आइशा राना र किस्मत गुरुङको जोडी तथा छात्रातर्फ ज्योतीकुञ्जका सज्जा घले र आयुप्सा गुरुङको जोडी र ग्लोबलका शइन थापा मगर र प्राप्ती खड्काको जोडीले तेस्रो स्थान हात पारे । बिजेता खेलाडीहरुलाई प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोज कुमार गुरुङ, हिसानका केन्द्रिय उपाध्यक्ष बाबुराम पन्त, हिसान कास्कीका अध्यक्ष दिवाकर जैशीलगायतले मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।
यसैगरी जारी प्रतियोगिता अन्तर्गत छात्र भलिबलमा प्रतिभा मावि र गुरुकुल मावि, सिर्जना र न्यू ग्यालेक्सी सेमीफाइनल प्रवेश गरेको छात्र भलिबलका संयोजक नवीन बरालले जानकारी दिए । त्यस्तै छात्रा भलिबलतर्फ सिर्जना र सगरमाथा तथा करुणनिधि मावि र गुरुकुल मावि सेमीफाइनलमा भिड्नेछन् । पोखरा रंगशालामा सम्पन्न प्लस टु छात्र बास्केटबलमा प्रतिभा मावि र मनकामना तथा न्यू ग्यालेक्सी र कास्की मोर्डनाइज्ड अन्तिम चारमा प्रवेश गरेका छन् ।
स्पोर्टस मिट अन्तर्गत प्लस टु (कक्षा ११–१२) विद्यालय, कलेज र विश्वविद्यालयतर्फका खेलाडीहरु विभिन्न चार खेलका छुट्टा–छुट्टै इभेन्टमा प्रतिष्पर्धा जारी रहेको छ । हिसान कास्की स्पोर्टस मिट अन्तर्गत छात्र–छात्रा बास्केटबल, भलिबल, ब्याडमिन्टन र टेबुल टेनिसका प्रतिष्पर्धामा कक्षा ११–१२ छात्र भलिबलमा ३३ र छात्रातर्फ २१ विद्यालयको सहभागिता रहेको छ ।
छात्र बास्केटबलमा सर्वाधिक ३९ र छात्रातर्फ ११ टिमको सहभागिता रहेको थियो । छात्रा बास्केटबल सम्पन्न भइसकेको छ । टेवुल टेनिसतर्फ छात्र–छात्रा सिंगल्स, डब्लसतर्फ १ सय ११ खेलहरु बिहिबार सम्पन्न भएका छन् । त्यसै गरी व्याडमिन्टन छात्र–छात्रातर्फ सिंगल्स र डब्सल्समा गरी कुल १ सय २४ खेलहरु सम्पन्न भएका छन् । ।विश्वविद्यालयतर्फ बास्केटबलमा छात्रतर्फ ८ र छात्रातर्फ समेत ८ टिमले सहभागिता जनाएका छन् । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीमा विद्यालय प्लस टु तर्फ ६६, कलेज र विश्वविद्यालय गरी आवद्धता रहेका १५ मध्ये कुल ६१ शिक्षण संस्थाले स्पोर्टस मिटमा सहभागिता जनाएका छन् ।