सहजीकरण छलफलमा विवाद हुँदा पोखरा महानगरपालिकामा एमाले र कांग्रेसको दुरी झन बढ्दाे

सहजीकरण छलफलमा विवाद हुँदा पोखरा महानगरपालिकामा एमाले र कांग्रेसको दुरी झन बढ्दाे

 छलफल भाँडेको र आक्रमण गर्न खाेजेको एक अर्काप्रति आरोप प्रत्यारोप

pokhara-mahanagarpalika

पोखरा । पोखरा महानगरपालिकाकामा देखिएको विवाद समाधानको लागि सहजीकरण गर्न मंगलबार हिजो बोलाइएको बैठकमा बोल्ने विषयको विवादले छलफल निष्कर्षविहीन बन्दा एमाले र कांग्रेसका जनप्रतिनिधिबीचको दुरी झन बढेको छ । छलफलमा भएको विवादलाई अतिरंजित तरिकाले नेपाली कांग्रेसका वडाध्यक्षले गलत प्रचार गरेको एमालेका वडाअध्यक्षले आरोप लगाएका छन् ।

घटनाक्रम अनुसार पोखरा महानगरका प्रमुख धनराज आचार्यले मंसिर १० गते बिहान ८ बजे सहजीकरण बैठक बोलाएका थिए । उक्त बैठकमा एमाले र कांग्रेसका केही वडाध्यक्षहरुले आफ्नो भनाइ राखेका थिए भने बैठक उपत्यका नगर विकास समितिको कार्यालय पार्दीमा राखिएको थियो । छलफलमा सहभागी भएकाहरुका अनुसार सोमबारको बैठकमा बोल्नेले मंगलबार नबोल्ने मौखिक सहमति बनेको थियो । महानगर प्रवक्ता मोतिलाल तिम्सिनाले सोमबार बैठकमा आफ्ना कुरा राखिसकेका थिए । तर, उनले मंगलबारको बैठकमा पनि बोल्न खोजेपछि मेयर, उपमेयर र प्रवक्ता साझा हो भन्दै एमालेका वडाअध्यक्षहरुले रोक्ने खोजे ।

त्यसपछि मैले बोल्न नपाउने भन्दै प्रवक्ता तिम्सिनाले टेबल ठोकेपछि विवाद सुरु भएको दाबी एमालेका वडाअध्यक्षहरुको छ भने नेपाली कांग्रेसका वडाअध्यक्षहरुले भने १५ नम्बरका वडा अध्यक्ष तोरणबहादुर बनियाको प्रस्तुतिले छलफलमा असहज सिर्जना गरेको दाबी गरेका छन् । छलफलमा सहभागी भएकाहरुले प्रवक्ता मोति र तोरणको भनाभन भएको स्वीकार गरेका छन् । छलफलमा प्रवत्ता मोतिलाई अमेरिकाको डाइभर्सिटी भिसा परेको र त्यसतर्फ जान खुट्टा उचालेका व्यक्तिलाई पोखराको माया हुँदैन भनेर एमालेका प्रतिनिधिले कुरा उठाएपछि विवाद झन चर्केको थियो ।

एमालेबाट छलफलमा सहभागी भएकाहरुले नेपाली कांग्रेस दलका नेता दिवसमान प्रधानांगले चियाको गिलास टेबलमा बजारेर आक्रमण गर्न खोजेको आरोप लगाएका छन् भने कांग्रेसबाट सहभागी भएकाले बानियाले कुर्ची नै उठाएर आक्रमण गर्न खोजेको आरोप लगाएका छन् । एकले अर्कोलाई लगाएको आरोप भने दुबै पक्षले अस्वीकार गरेका छन् । मंगलबारको छलफलमा सहभागी नै नभएका वडा नम्बर ४ का अध्यक्ष देवकृष्ण पराजुलीले आक्रमण रोक्न खोजेको भनी गरिएको प्रचारमा भने एमालेका वडाध्यक्षहरुको आपत्ति छ ।

‘मंगलबारको छलफलमा वडाध्यक्ष पराजुली सहभागी हुनुभएको थिएन,’ छलफलमा सहभागी वडा नम्बर ५ का अध्यक्ष विष्णुप्रसाद बराले भने, ‘उपस्थित नै नभएको व्यक्तिले आक्रमणको प्रयासलाई रोक्न खोजेको भनी गरिएको प्रचारमा कुनै सत्यता छैन, कोही कसैलाई आक्रमणको प्रयास भएकै छैन, केही भनाभन भएकै हो ।’ घटना बारेमा जानकारी लिन वडा नम्बर ४ का अध्यक्ष पराजुलीलाई तीन पटक फोन गर्दा उनको फोन उठेन ।

गत कात्तिक १५ गते बसेको पोखरा महानगरपालिकाको कार्यपालिकाको ३७ औं बैठकले करार कर्मचारी हटाउन बुहमतले निर्णय गरेपछि विवाद सुरु भएको हो । उक्त बैठक एमालेका जनप्रतिनिधिले बहिष्कार गरेका थिए । उक्त निर्णयप्रति विमति राखेर एमालेका जनप्रतिनिधिहरुले चरणवद्ध आन्दोलन गर्दै आएकोमा माग सुनवाइ नभएपछि कात्तिक २९ गते विशेष नगर सभाको माग गर्दै मेयर आचार्यलाई निवेदन दिएका थिए । ३७ औं कार्यपालिका बैठकमा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरु सहभागी नभएको र बहुमतका आधारमा गरिएको बैठक निर्णय खारेजीको माग गर्दै कात्तिक २० गतेबाट उनीहरु शान्तिपूर्ण आन्दोलनमा उत्रेका थिए ।

३७ औं बैठक निर्णयपछि उत्पन्न परिस्थितिलाई सहजीकरण गर्न मंगलबार छलफल बोलाइएको थियो । पोखरा १७ का वडाध्यक्ष राधिका शाही योगीले हाम्रो मागमा सुनुवाइ नभएपछि स्थानीय सरकार संचालन ऐनमा व्यवस्था भए अनुसार नगरसभाका २५ प्रतिशत सदस्यहरुले विशेष नगरसभा माग गर्न पाउने कानुनी व्यवस्था अनुसार माग गरिएको बताइन् । स्थानीय सरकार सञ्चालन ऐनमा १५ दिनभित्र विशेष नगरसभाको मिति तोक्नुपर्ने व्यवस्था रहेको छ ।

नगर प्रमुख धनराज आचार्यको अध्यक्षतामा भएको छलफलमा उपप्रमुख मञ्जुदेवी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाई, प्रवत्ता मोतिलाल तिमिल्सेना, नेपाली कांग्रेसका तर्फबाट पोखरा २ का वडाध्यक्ष दिवसमान प्रधानांग, वडा नम्बर ५ का अध्यक्ष विष्णुप्रसाद बराल, ११ का अध्यक्ष प्रेमप्रसाद कर्माचार्य, १२ का अध्यक्ष सन्तोष बास्तोला, १३ का अध्यक्ष किरण बराल, १५ का अध्यक्ष तोरण बानियाँ, १७ का अध्यक्ष राधिका साही योगी, २० का अध्यक्ष गंगाबहादुर खत्री, पोखरा २७ अध्यक्ष पूर्णबहादुर गुरुङ, कार्यपालिका सदस्य निर्मल दियाली, र शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्य सहभागी भएका थिए ।

प्रतिक्रिया