१७ औं हिसान कास्की स्पोर्टस् मिट पोखरामा सुरु

१७ औं हिसान कास्की स्पोर्टस् मिट पोखरामा सुरु

स्वस्थ शरीर र मस्तिष्कयुक्त नागरिक उत्पादनमा खेलकुद सहयोगीः प्रदेश प्रमुख भट्ट

b386e595-1869-4a1b-854f-6d43ee31f737

पोखरा । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा १७ औं हिसान कास्की स्पोर्टस् मिट २०८१ मंगलबारबाट सुरू भएको छ । मिटको उद्घाटन गर्दै गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले स्वस्थ शरीरमा स्वस्थ मन हुने बताउँदै स्वस्थ तनमनले नै ज्ञान लिन सक्ने बताएका छन्उ ।  स्वस्थ तनमनको आधारशीला भने खेलकुद रहेको उनो भनाइ छ ।

‘स्वस्थ शरीर नै एउटा मान्छेका लागि सुख र आनन्द हो । अनुशासित स्वस्थ शरीर र स्वस्थ मस्तिष्कयुक्त नागरिक उत्पादनमा खेलकुद सहयोगी सिद्ध छ । स्वस्थ शरीर र निरोगी मस्तिष्कबाट नागरिकले सुन्दर भविष्यको रुपरेखा कोर्छन् । अनि मात्र मुलुक समृद्ध बन्दछ ।’ प्रदेश प्रमुख भट्टले भने ।

खेलकूद र शिक्षा एक अर्काका पूरक भन्दै उहाँले यसलाई तालमेल मिलाउँदै हिसान कास्कीले विगत १७ वर्षदेखि यस प्रकारका गतिविधि गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो । ‘विद्यालयमा विभिन्न क्षेत्र, लिङ्ग, वर्ग, संस्कृति र सामाजिक परिवेशका बालबालिका अध्ययन गर्न आउँदछन् । उनीहरूलाई शिक्षासँगै खेलकुदको माध्यमबाट सर्वाङ्गीण विकासका लागि विद्यालयको महत्वपूर्ण भूमिका हुन्छ ।’ उहाँले भन्नुभयो ।

खेलकुद विकासको आधार स्तम्भ विद्यालय रहेको बताउँदै उहाँले दक्ष जनशक्ति, सुयोग्य नागरिक उत्पादनको कारखानाको रूपमा रहेको विद्यालयमा खेलकुदको विकासको विकल्प नरहेकोमा जोड दिए ।   पछिल्लो समय नेपाल खेलकुदको माध्यमबाटसमेत चिनिँदै गएको उल्लेख गर्दै उहाँले सशक्त र पूर्वाधार सम्पन्न मुलुकहरुलाई खेलकै माध्यमबाट पराजित गर्न सकेको र खेलकुदले राष्ट्रको गौरव, शान, मान, पहिचान स्थापित गरेको बताए ।

निजी शिक्षालयहरूको साझा संगठनका रुपमा रहेको हिसान अन्तर्गत देशभर ४० हजार भन्दा बढी विद्यार्थी र १० हजार बढी कर्मचारीहरु छन् । हिसान कास्की शाखामा प्याब्सन, एनप्याब्सन, युनिप्स लगायतका संस्थामा संगठित ६५ भन्दा बढी प्लस टु विद्यालय र १५ वटा कलेजहरु आबद्ध रहेका छन् । ‘स्वास्थ्य, अनुशासन र प्रतिभा प्रस्फुटनका लागि खेलकुद’ नाराका साथ आयोजित यस १७ औं संस्करणको खेलकुद महोत्सवमा कास्कीका ७५ विद्यालय तथा कलेजहरूका ५ हजार भन्दा बढी विद्यार्थीले विभिन्न खेलकुद प्रतियोगितामा सहभागिता जनाएको हिसान कास्कीका सचिव किरण सापकोटाले जानकारी दिए ।

प्रतिक्रिया