उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन निर्देशन

उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन निर्देशन

elecation aayog

काठमाडौं । यही मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि मतदान स्थल उपलब्ध गराइदिन निर्वाचन आयोगले निर्देशन दिएको छ । आयोगले यही मंसिर १३ देखि १६ गते मतदान सम्पन्न नभएसम्म मतदान स्थलको रूपमा कायम भएका स्थान उपलब्ध गराइदिन आग्रह गरेको हो ।

आयोगले मतदान स्थल कायम भएका सामुदायिक विद्यालय, निजी विद्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था, सामुदायिक भवन, औद्योगिक प्रतिष्ठान, सार्वजनिक स्थल निर्वाचन प्रयोजनका लागि उपयोग गर्ने व्यवस्था मिलाउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत उपनिर्वाचन हुने सबै स्थानीय तहलाई निर्देशन दिएको हो ।

आयोगको आइतबारको बैठकले स्थानीय तहको उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययी रूपमा सम्पन्न गर्न, गराउन तथा स्थानीय तहमा मतदानस्थल उपयोग गर्ने, सार्वजनिक बिदा दिन समेत भनेको छ । उपनिर्वाचन हुने स्थानीय तहमा सम्बन्धित स्थानीय तहभर र वडा अध्यक्षको उपनिर्वाचन हुने स्थानीय तहमा वडाको क्षेत्रभित्रका कार्यालयमा सार्वजनिक बिदा दिने व्यवस्था मिलाउन समेत बैठकले आग्रह गरेको आयोगका प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिइन् । यही मङ्सिर १६ गते आइतबार विहान ७ः०० बजेदेखि अपराह्न ५ः०० बजेसम्म मतदान केन्द्रमा गई मतदानमा सहभागी हुन र आफ्नो मताधिकार प्रयोग गर्न आयोगले मतदातालाई आह्वान गरेको छ ।

गण्डकी प्रदेशको गाेरखा नगरपालिका वडा नम्बर ५ मा मात्र निर्वाचन हुँदैछ ।  वडाध्यक्ष खिलबहादुर रानाको २०७९ सालकै  तिहारको भाइटीका दिन निधन भएको थियो । घरमै बसिरहेको बेला दिउँसो एक्कासी लडेर बेहोस भएपछि उनलाई गोरखा अस्पताल पुर्‍याइएको थियो । गोरखा अस्पतालका अनुसार अस्पताल पुग्नुअघि नै उनको निधन भइसकेको थियो । उनी नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।

नेकपा एमालेले उनकै श्रीमती दुर्गामाया रानालाई वडाध्यक्षको उम्मेदवार बनाएको छ । कांग्रेसबाट भाइकाजी आले, माओवादी केन्द्रबाट विष्णुबहादुर राना मगर, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मंगलबहादुर थापाको उम्मेदवारी परेको छ । त्यस्तै मंगल नेशनल अर्गनाइजेशनबाट भवानी थापा मगर, नेशनल रिपब्लिक नेपालकी सविना तामाङ, राप्रपाकी कल्पना राना, राप्रपा नेपालका रुपसिंह राना, नेकपा (एस) का खड्गबहादुर भुजेल र नेपाल समाजवादी पार्टीका रुपेश मग्रातीले उम्मेदवारी दिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

उपनिर्वाचनका लागि गोरखा–५ मा दुई हजार २ सय २५ मतदाता कायम भएका छन् । गोरखकाली आधारभूत विद्यालय स्वाँरा र शिवशक्ति आधारभूत विद्यालय अमराई गरी दुई वटा मतदान स्थल रहेका छन् । गोरखकाली आधारभूत विद्यालयमा ३ सय ५४ पुरुष र ३ सय ७० महिला गरी ७ सय २४ मतदाता रहेका छन् । शिवशक्ति आधारभूत विद्यालय, अमराईमा ७ सय ३२ पुरुष र ७ सय ६९ महिलासहित १ हजार ५ सय १ जना मतदाता रहेका छन् ।

प्रतिक्रिया