पोखरा ।
पोखरा पुस्तक तथा स्टेसनरी व्यवसायी संघको अध्यक्षमा गोविन्द गौतम निर्वाचित भएका छन ।
शनिबार राति सम्पन्न संघको ३१ औं साधारण सभा एवं १२ औं अधिवेशनबाट अध्यक्ष पदमा गौतम सहित प्रकाश बास्तोला र मिलन गोर्खालीले उमेदवारी दिएकोमा गोविन्द गौतमले १ सय ५ मत प्राप्त गरेर विजयी भएका थिए । अध्यक्षका उमेदवार प्रकाश बास्तोलाले ३९ मत र मिलन गोर्खालीले २१ मत प्राप्त गरेका थिए। निर्वाचन कार्यक्रममा १ सय ६५ जनाले मतदान गरेका थिए।
संघको कास्की शाखाको प्रथम उपाध्यक्षमा ध्रुव पोखरेल, दित्तीय उपाध्यक्ष सञ्जय आचार्य, सचिवमा रामप्रसाद सुवेदी, कोषाध्यक्षमा प्रकाश प्रसाद पोखरेल र सहसचिवमा दीपेन्द्र पोखरेल भने सर्वसम्मत चयन भएका छन् । त्यसैगरी सदस्यमा विभिषण तिमिल्सिना, अर्जुन खनाल, सन्तोष अधिकारी, इश्वर पौडेल, मनिषा बस्नेत परियार, हरि खनाल, विजय सपकोटा, देविमायाँ दवाडी र ज्ञान प्रसाद पाठक निर्वाचित भएका छन् ।
संघको लेखा समिति संयोजकमा गिता अधिकारी, सदस्यमा टिकाराम बास्तोला र सुजित गौतम निर्वाचित भएका निर्वाचन समितिका संयोजक ऋषिराम शर्मा भण्डारीले जानकारी दिए ।
अधिबेशन अघि पोखरा महानगरका प्रमुख धनराज आचार्यले अब प्रविधिमैत्री नहुने हो भने व्यवसायमा सफलता प्राप्त हुन नसक्ने बताउदै उनले पोखराको व्यवसायबारे इतिहास स्मरण गर्दै विगतमा राजालाई भेटी नचढाई संस्था संचालन गर्न नपाइने अवस्था रहेको बताए । उनले पोखरामा २०४२ सालमा पुस्तक तथा स्टेसनरीको संस्था प्रक्रिया सुरु भए पनि २०५० सालमा आएर बल्ल विधिवत् दर्ता भएको स्मरण गरे । उनले पुस्तक तथा स्टेसनरी व्यवसाय सम्मानित र प्रतिष्ठित व्यवसाय रहेको र आफू पनि यही व्यवसायबाट अगाडि बढेको स्मरण गरे । नेपाल पुस्तक तथा स्टेसनरी महासंघका महासचिव विष्णुप्रसाद पौडेलले पुस्तक नीति अहिले मन्त्रालयमा छलफलको क्रममा रहेको बताए । उनले पुस्तक नीति आमव्यवसायीको हितमा हुनुपर्नेमा जोड दिँदै मस्यौदा कार्यान्वयन भएपछि सबै व्यवसायीलाई फाइदा पुग्ने विश्वास गरे ।
कार्यक्रममा पुस्तक तथा स्टेसनरी व्यवसायी संघ गण्डकी अध्यक्ष कृष्णप्रसाद पोखरेल, संघ कास्कीका पूर्व अध्यक्ष प्रेमबहादुर श्रेष्ठ, पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष उत्तममान बुद्धाचार्य, संस्थाका सल्लाहकार ऋषिराम शर्मा भण्डारी, मसलन्द तथा शैक्षिक सामग्री उत्पादन संघका केन्द्रीय सदस्य कृष्णराज ढुंगाना, कलम बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष मनोहरि सापकोटा, हिसान कास्की अध्यक्ष दिवाकर जैशी, फेन्सी तथा रेडिमेड व्यवसायी संघ कास्की अध्यक्ष एकनारायण पंगेनी, संस्थाका सहसचिव रामप्रसाद सुवेदीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । सो अवसरमा अग्रज व्यवसायीमध्ये गुप्तप्रसाद शर्मा, राजेन्द्र घिमिरे र सावित्री कोइराला गौतमलाई सम्मान गरिएको थियो ।
पोखरा पुस्तक तथा स्टेसनरी व्यवसायी संघ कास्कीका अध्यक्ष कविन्द्र पोखरेलको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा पोखरा पुस्तक तथा स्टेसनरी व्यवसायी संघका उपाध्यक्ष उपाध्यक्ष ध्रुव पोखरेल, सचिव सञ्जय आचार्य र सहसचिव रामप्रसाद सुवेदी लगायतले संस्थाका विभिन्न गतिबिधिमाथि प्रकाश पारेका थिए ।