बडातिहारका लागि खर्च जुटाउन राउटे पोखरामा

बडातिहारका लागि खर्च जुटाउन राउटे पोखरामा

raute

पोखरा महानगरपालिकामा आर्थिक सहयोग माग्न पुगेका राउटे र पाेखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङ ।

पोखरा । खर्च जुटाउन सुर्खेतबाट राउटे समुदाय पोखरा आएका छन् । राउटे समुदायका मुखिया शेरबहादुर रासकोटी शाहीको नेतृत्वमा ७ जनाको टोलीले हिजो पोखरा आएको हो । राउटे समुदायको मंसिर ११ र १२ मा परेको मुख्य पर्व बडातिहारको लागि खर्च जुटाउन पोखरा आएको मुखिया शेरबहादुरले सुनाए ।

उनीहरुले गण्डकीका मन्त्रालय र पोखरा महानगर पालिकामा सहयोग मागेका छन् । काठका भाँडा बनाउने उनीहरुको परम्परागत पेशा संकटमा परेपछि उनीहरु देशका विभिन्न ठाउँमा डुलेर खर्च जुटाउने गरेका छन् ।

उनीहरुले संकलन गरेको रकम महामुखियालाई लगेर बुझाउँछन् । उनीहरुले जंगलमै जीवन बिताउँछन् । सुर्खेतमा उनीहरुको ४६ घरधुरी छ । त्यहाँ करिब २ सय राउटे छन् । पोखराबाट सोचेजति सहयोग नपाएको उनीहरुको गुनासो छ ।पोखरा महानगरपालिकाले २१ हजार, अर्थ मन्त्रालयले १५ हजार, सामाजिक विकास मन्त्रालयले ७ हजार र केही व्यक्तिहरुले उनीहरुलाई सहयोग गरेका छन् ।

राउटे  खस आर्य समुदायको पिछडिएका नेपालको लोपोन्मुख आदिवासी हुन् । मध्य–पश्चिमको सल्यान तथा आसपासका जिल्लामा फिरन्ते जीवन बिताउने राउटे जातिले खस भाषा र नेपाली पनि राम्रोसँग बोल्न साथै बुझ्न सक्दछन् । यिनिहरू प्राय जसो बाँदर तथा अन्य जंगली जनावरको सिकार गर्ने र कन्दमुल, फलफूल र अन्य वनस्पति खाएर बाच्ने गर्दछन् । विशेष गरेर राउटे जातिले लठ्ठी-लौरो बाजा, मजिरा, मादल र ढ्याङग्रो बाजा प्रयोग गरेको देखिन्छ । उनीहरुकाे  खास क्षेत्र कर्णाली, महाकाली, सेती, भेरी र राप्ती अञ्चलका पहाडी जंगल, भीर र ओढार हुन् । यिनीहरू मुख्यरूपले मध्य–पश्चिमको सल्यान तथा आसपासका सुर्खेत,दाङ्ग,जाजरकोट र दैलेख जिल्लामा जंगली क्षेत्रमा बस्छन् ।

प्रतिक्रिया