लोक संगीतका शिखर व्यक्तित्व झलकमानको आज स्मृति दिवस

लोक संगीतका शिखर व्यक्तित्व झलकमानको आज स्मृति दिवस

jhhalak man

पोखरा । नेपाली लोक संगीतका शिखर व्यक्तित्व झलकमान गन्धर्वको आज स्मृति दिवस । उनको ६८ वर्षको उमेरमा २०६० मंसिर ६ गते काठमाडौमा निधन भएको थियो । पर्यटनको राजधानी सहर पोखरास्थित बाटुलेचौरको एउटा विपन्न गरिब गन्धर्व परिवारमा विसं. १९९२ साल वैशाख १२ गते उनको जन्म भएको हो । ९ वर्षको बाल्यकालदेखि नै सारंगी बजाउन जानिसकेका झलकमान १३ वर्षको हुँदा र्‍ याइँ र्‍याइँ सारंगी रेट्दै गामठाम, लेकबेंसी डुल्थे । विभिन्न गाँउले जनजीवन, सुखदुख, मायापिरती, कथाव्यथाका साथै वीरता र राष्ट्रियताका गाथा र कर्खा सुनाउँथे ।

रेडियो नेपालमा सारंगी र मादल वाद्यवादकका रुपमा जागिरे गन्धर्व २०२४ साल कात्तिक १ गतेदेखि गायकको रुपमा काम गरेका थिए । उनका रेडियो नेपालमा २ सय ५० बढी गीत रेकर्ड भएका छन् । गन्धर्वले नारायणगोपाल स्मृति सम्मानदेखि इन्द्रराज्यलक्ष्मी पुरस्कार लगायत दर्जनौं सम्मान प्राप्त गरेका छन् । गन्धर्वका आमाले सोध्लिनी..,डाँफे चरी…,अल्लारे नानी..,राधा पियारी.., तिम्रो नै माया, बाला जोवन लगायत गीतहरु चर्चामा छन् । बिडम्बना, आज उनका ८÷१० वटा गीत पनि बज्दैनन् । उनका ११ गीत संकलित “झलकमान गन्धर्वका लोकगीतहरु” म्युजिक नेपालले बजारमा ल्याएको छ ।

गीत–संगीतका सुुरुवाती दिन, वर्षहरुमा आफ्नै गाउँघर, शहर बजार घुम्दै लोकप्रिय बनेका झलकमान ३० वर्षको उमेरमा विसं. ०२३ सालमा आयोजित राष्ट्रिय लोकगीत प्रतियोगितामा भाग लिन तत्कालीन अञ्चलाधीश लक्ष्यबहादुर गुरुङका साथमा कल्याण शेरचनको नेतृत्वमा काठमाडौं आए । सो प्रतियोगितामा प्रथम भई उत्कृष्ट स्थान हासिल गरेपछि झलकमान राष्ट्रियरुपमा चम्किन थाले । सुगौली सन्धिपछि बहादुर गोर्खाका नाममा पराई भूमि रक्षाका लागि लाहुरेको मरण कर्खा र कारुणिक पारिवारिक वर्णनमा आधारति उनको आफ्नै रचना “आमाले सोध्लिी नि खै छोरा भन्लिनी” गीत नै प्रतियोगितामा गाएका थिए । जुन गीत कालजयी बन्यो ।

निर्णायक मण्डलको विजयी घोषणाछि श्री ५ महेन्द्र सरकारबाट झलकमानलाई स्वर्णपदकसहित १ हजार नगद पुरस्कारसमेत प्रदान गरिएको थियो । त्यही सफलताले रेडियो नेपालमै सारंगी र मादल वाद्यवादकका रुपमा  जागिर थालेका झलकमानले नेपाली गीत संगीतको सिर्जना, जर्गेना र श्रीवृद्धिमा सिंगो जीवन समपर्ण गरे ।

नर्वेबाट प्रकाशित पुस्तकमा त झलकमानले “अरबाजो” बजाएको दुर्लभ तस्वीरसमेत छापिएको छ । नेपालको हिमाल खबरले “सय वर्षका एक सय एक नेपाली” मा झलकमानले ८२ औं स्थान प्राप्त गरेका थिए । उनको जन्मथलो  बाटुलेचौरमा  शालिक बनेकाे  शालिकमा वर्षेनी एक पटक अर्थात मंसिर ६ गते श्रद्धाका फूलहरु अर्पण गर्ने गरेपनि उनको सम्झनामा अन्य कार्यक्रम भने हुन सकेका छैनन् । झलकमानका नाउँमा प्रतिष्ठान गठन गरिएपनि त्यसले पनि देखिने गरी गतिविधि र कार्यक्रम गर्न भने सकेको छैन । भलकमान गन्धर्वप्रति हार्दिक श्रद्धा सुमन ।

प्रतिक्रिया