एक महिनामा औषधीको मूल्य समायोजन हुन्छ : मन्त्री पौडेल

एक महिनामा औषधीको मूल्य समायोजन हुन्छ : मन्त्री पौडेल

pradip paudel

पर्वत। नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले एक महिनामा सबै प्रकारका औषधीको मूल्य समायोजन गरिने बताएका छन् । पर्वत अस्पतालको निरीक्षण तथा डिजिटलाइजेसन उद्घाटन गर्दै उनले औषधीमा फार्मेसी व्यवसायी र कम्पनीबाट भइरहेको मनोमानी अन्त्य गर्नका लागि मूल्य समायोजन गरिने बताए ।

सरकारले मूल्य समायोजन गरेपछि सोही मूल्यसूचीका आधारमा मुलुकभर औषधी खरिद बिक्री हुने र बिरामी ठगिन नपर्ने उनको भनाइ छ । उनले औषधीको मूल्य समायोजनको कार्य अन्तिम चरणमा पुगेको बताए ।  मन्त्री पौडेलले नागरिकलाई सर्वसुलभ रुपमा गुणस्तरीय स्वास्थ्य सुविधा उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताए ।

विपन्न र असहाय नागरिकले पनि सहज रुपमा सबैखाले स्वास्थ्य सुविधा उपभोग गर्न सकुन र उपचारको अभावमा कोही पनि अकालमा मृत्युवरण गर्न नपरोस् भन्ने उद्देश्यले स्वास्थ्य क्षेत्रको सुधारका काम भइरहेको बताए ।  पर्वत अस्पताल विकास समितिका अध्यक्ष शंकर गिरीले अस्पतालको सुधारका लागि आवश्यक विषय समेटिएको मागपत्र पेस गरेका थिए ।  मन्त्री पौडेलले मागपत्र बुझ्दै पर्वत अस्पतालको विकास र गुणस्तरीय सेवा प्रवाहका लागि आवश्यक सहयोग गर्ने बताए ।

प्रतिक्रिया