दुर्गा प्रसाईंको घरबाट बरामद ल्यापटप र मोबाइल जाँचका लागि डिजिटल फरेन्सिक ल्याब पठाइने

दुर्गा प्रसाईंको घरबाट बरामद ल्यापटप र मोबाइल जाँचका लागि डिजिटल फरेन्सिक ल्याब पठाइने

सरकारी लिखत कीर्तेको कसुरमा पनि अनुसन्धान गरिने

durga

काठमाडौं । विवादास्पद व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गरेको नेपाल प्रहरीले उनको घरबाट ३ वटा ल्यापटप र ९ वटा मोबाइल बरामद गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले मंगलबार दिउँसो प्रसाईंलाई भक्तपुरस्थित उनकै घरबाट पक्राउ गरेको थियो ।
त्यसक्रममा उनको घरमा खनतलासी गरेर ३ ल्यापटप र ९ वटा मोबाइल बरामद गरिएको सीआइबीका एसपी होबिन्द्र बोगटीले बताए ।

विद्युतीय अपराध ऐन, २०६३ विपरीतको कसुरमा अनुसन्धानका लागि पक्राउ गरिएकाले थप प्रमाण भेटिनसक्ने अनुमानसहित घरबाट अन्य विद्युतीय सामग्री पनि बरामद गरिएको प्रहरीले जनाएको छ । प्रसाईंबाट बरामद ल्यापटप र मोबाइल जाँचका लागि डिजिटल फरेन्सिक ल्याब (डिएफएल) मा पठाउने तयारी छ । डिएफएलबाट ल्यापटप र मोबाइलमा डिलिट भएका विवरण पनि रिकभर हुन्छन् ।

प्रसाईंले सोमबार युट्युबरहरु बोलाएर प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियाको टेलिकम एक्जिएटा प्रालिमा लगानी गरेको दाबी गरेका थिए । त्यसक्रममा उनले प्रमाण भन्दै केही कागजपत्र पनि सार्वजनिक गरेका थिए । प्रहरीको प्रारम्भिक जाँचका क्रममा ती कागजातहरु कीर्ते गरेर तयार पारिएको देखिएको छ । गलत विवरणका भरमा प्रधानमन्त्रीमाथि गम्भीर आक्षेप लगाएपछि उनी अनुसन्धानको दायरामा परेका थिए ।
प्रसाईंमाथि सरकारी लिखत कीर्तेको कसुरमा पनि अनुसन्धान गर्ने प्रहरी तयारी छ । सिआइबीले नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि उनलाई साइबर ब्युरोको जिम्मा लगाएको छ ।

प्रतिक्रिया